डा.उपाध्यायले पाए प्रधानमन्त्री देउवाबाट गिनिज बुक अफ वल्ड रेकर्डको प्रमाणपत्र

डा. डीआर उपाध्यायले एकै दिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड दर्ता गराएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार डा. उपाध्यायलाई उक्त रेकर्ड हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटरमा गरिएको संक्षिप्त कार्यक्रममा डा. उपाध्यायलाई प्रधानमन्त्री देउवाले विश्व रेकर्ड हस्तान्तरण गरेका हुन् । सो अवसरमा गिनिज बुकको मिडिया को–अर्डिनेटरको प्रमाणपत्र हिमालय टाइम्सका कृष्ण भुसाल, प्राइम टेलिभिजनका नरेश भट्टराई, राजधानी दैनिकका डब्बु क्षेत्री, मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारी र राष्ट्र खबरका राज लुईंटेललाई प्रधानमन्त्री देउवाले प्रदान गरेका छन् ।

विश्व कीर्तिमानी डा. उपाध्यायका बारेमा सञ्चारकर्मी नरेश भट्टराईले संक्षिप्त जानकारी प्रधानमन्त्रीसमक्ष राखेका थिए । प्रधानमन्त्री देउवाले डा. उपाध्यायको यस कार्यका लागि बधाई तथा शुभकामना दिए । मिलापको संयोजनमा गरिएको कार्यक्रममा साहित्यकार गणेश सुवेदीलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

डा. उपाध्यायले नेपालमा भएका विभिन्न दैनिकमा २०७८ साल असार १५ गते मंगलबार तदनुसार २९ जुन २०२१ का दिन ‘महिला हिंसाको कारण र न्यूनीकरण’ शीर्षकमा एक हजार ५१ शब्दको लेख ३६ राष्ट्रिय दैनिकमा प्रकाशित गरेका थिए । यसअघि यो विश्व रेकर्ड बेलायतका क्रिस जिगरको नाममा रहेको थियो ।