‘मिस्टर डन’ को सिक्वेल ‘डन २’निर्माणको तयारी

कोरोना महामारीका कारण झन्डै डेढ बर्ष देखि नेपाली फिल्म क्षेत्र ठप्प बनेको छ । महिनामा ८ देखि १० वटा फिल्महरु प्रदर्शनमा आउने नेपाली फिल्म बजार ठप्प हुँदा करोडौंको नोक्सान हुनुका साथै थुप्रै फिल्मकर्मी बेरोजगार बन्न पुगेका छन्।

अब बिस्तारै फिल्म क्षेत्रलाई चलायमान बनाउनु पर्छ भन्दै केहि निर्माता तथा निर्देशक फिल्म निर्माणको तयारीमा लागेका छन्। निर्माता तथा निर्देशक दिनेश पाख्रिनको २०६३ सालमा प्रदर्शनमा आएको फिल्म ‘मिस्टर डन’ को सिक्वेल ‘डन २’निर्माण हुने भएको छ। दिनेश पाख्रिनको निर्देशनमा बन्न लागेको फिल्ममा समावेश हुने गीतमा गायक राजेश पायल राईले आवाज दिएका छन्।

विकास चौधरीको संगीतमा बनेको गीत पुतलीसडक अवस्थित मिरा साउण्ड रेकर्डिङ्ग स्टुडियोमा राईले स्वर भरेका हुन् । ‘बग्यो त्रिशुली’ बोलको रोमान्टिक गीतमा शब्द हरी उप्रेतीको रहेको छ। दिनेश थापा प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता निर्मल लामा,बिक्रम तामाङ र हेलेन पाख्रिन रहेका छन्।

दिनेश पाख्रिनकै कथा रहने फिल्मको कलाकार फाईनल भई सकेको तर सम्झौता हुन बाँकी रहेकोले अहिले सार्वजनिक गर्न नमिल्ने पाख्रिनले बताए । गोपालकाजी कायस्स्थले वितरणको जिम्मा लिएको फिल्म दशैंपछि फ्लोरमा जाने छ। एक्सन जनरामा निर्माण हुने फिल्मको सम्पूर्ण टिम र कलाकारको बारेमा छिट्टै जानकारी गराउने निर्माता निर्मलले बताए।