मौनताको ‘आँधी तुफान२’ फ्लोरमा

निषेधाज्ञाका कारण छायांकन रोकिएको फिल्म ‘आँधी तुफान २’ को छायांकन सुरु भएको छ । फिल्मका निर्देशक मदन घिमिरेले हिजोबाट फिल्मको छायांकन थालिएको जानकारी दिएका छन् ।

गत बैशाखको पहिलो साताबाट फिल्मको छायांकन थालिएको थियो । फिल्म छायांकनमा निस्केको केहि दिन पछि नै निषेधाज्ञाका कारण रोकिएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै आइतवारबाट फिल्मको छायांकन सुरु भएको छ । फिल्मको सोमवारदेखि धुलिखेलमा छायांकन भइरहेको निर्माण पक्षले जानकारी दिएको छ ।

फिल्मका लेखक तथा निर्माता मौनता श्रेष्ठको निर्माणमा भइरहेको फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, रवि गिरी, ध्रुव कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी लगायत कलाकारहरुको अभिनय रहेको छ । १६ वर्षपछि ‘आँधी तुफान’ को सिक्वेल निर्माण हुन लागेको हो ।

यस्तै अर्को सोभित बस्नेतको फिल्म ‘डाँडा बर पीपल’को पनि छायांकनको तयारी भइरहेको छ । निर्माण पक्षले यो फिल्म आगामी भदौँ १ गतेबाट छायांकनमा निस्कने बताइसकेको छ । त्यस्तै यहिसँगै छायांकन रोकिएका फिल्म ‘बाबरी’ लगायत अन्यले भने छायांकनको बारे अन्योल रहेका छन् ।