अव फिल्मकर्मीलाई पनि कोरोना विरुद्धको खोप

कोरोनाविरुद्धको खोप माग गर्दै आएका नेपाली फिल्मकर्मीहरुले अन्ततः खोप लगाउन पाउने भएको छन् । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले प्रेस विज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन् ।

उनले लेखेको विज्ञप्तीमा चलचित्र विकास बोर्ड, कलाकार संघ लगायतका चलचित्रसंग सम्बन्धित संघ–संस्थको माग अनुसार सहज वातावरणमा कोरोनाविरुद्धको खोप लगाउने अनुरोध सुनुवाइ भएको उल्लेख गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ,‘चलचित्रकर्मीहरुलाई कोभिडविरुद्धको खोप प्राथमिकतामा राखी लगाई दिने व्यवस्थापनका लागि नेपाल चलचित्र कलाकार संघको प्रतिनिधि मण्डलले स्वास्थ्य सचिवलाई भेटी लिखित अनुरोध गरेको जानकारी गराउँदछु । स्वास्थ्य सचिवनले कुन उमेर समुहका कति जना चलचित्रकर्मी हुनुहुन्छ, त्यसको विवरण संकलन गरी अविलम्ब पेश गर्नु भए प्राथमिकताका साथ खोप उपलब्ध गराई दिने तोक आदेश भएको पनि जानकारी गराउँदछु ।’

‘विवरण पठाउँदा १८ देखि ४९ वर्ष र ५० वर्षभन्दा माथिका नेपाली चलचित्रकर्मीको छुट्टा–छुट्टै विवरण पठाउन समेत आग्रह गरिएको छ ।
विज्ञप्तीमार्फत अध्यक्ष खड्काले चलचित्र विकास बोर्डको समेत समन्वय र ओम समाज डेन्टल अस्पतालको व्यवस्थापनमा कोभिडविरुद्धको खोप लगाउने अभियानमा संस्थाबाट खोप लगाउने चलचित्रकर्मीको नाम, ठेगाना र उमेर उल्लेख गरी साउन १३ गतेभित्र विवरण पठाउन समेत उल्लेख गरेका छन् ।