पाल्पाको सन्तोष हल पनि सधैँका लागि बन्द

‘कोभिड १९’को महामारी कारण बन्द रहेका फिल्म हल एकपछि अर्को बन्द हुन थालेका छन् । केहि दिन अघि काठमाडौको कुमारी हल बन्द भएको समाचार सेलाउन नपाउदै चार दशकको इतिहास बोकेको पाल्पाको एकमात्र फिल्म हल सधैको लागि बन्द भएको छ ।

पाल्पाको सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’ सधैँका लागि बन्द भएको हो । वि.सं २०३८ सालमा निर्माण भएको हल अव सधैका लागि बन्द गर्ने निर्णय भएको हल संचालक सन्तोष लिगलले बताएका छन् ।

उनका अनुसार फिल्म हेर्न दर्शक घट्नका साथै कोभिडका कारण हल नचल्दा कर्मचारीलाई तलब दिन र विद्युत महशुल बुझाउन समेत गाह्रो भएका कारण हल बन्द गर्नु परेको हो । ३४५ सिट क्षमता रहेको यस फिल्म हलमा पछिल्लो पटक फिल्म ‘आमा’ प्रदर्शन भएको थियो । यो सहित देशभरका दुइ दर्जन भन्दा बढि हल बन्द भइसकेका छन् ।