जेनी कुवँरको पशुपति आर्यघाटमा अन्त्येष्टी,भतिजले दिए दागबत्ती

हिजो राति थापागाउँस्थित सनराइज अपार्टमेन्टमा आत्महत्या गरेकी अभिनेत्री तथा निर्माता जेनी कुँवरको अन्यष्टी गरिएको छ । आज शुक्रबार पशुपति आर्यघाटमा उनको पार्थिव शरिर अन्त्येष्टी गरिएको हो । उनको पार्थिव शरीरलाई भतिज जीवन कुँवरले दागबत्ती दिएका थिए ।

उनलाई श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, कोषाध्यक्ष सुनिल कटुवाल लगायत कार्यसमिति पदाधिकारी सबै, प्राविधिक संघका अध्यक्ष पुस्कर लामाका साथै चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, आइडल डिजाइनरका सुन्दर श्रेष्ठलगायत थुप्रै कलाकर्मी उपस्थित रहेका थिए । उनको शवमा कलाकार संघको झण्डा समेत ओढाइएको थियो ।

२०५७ सालमा कलाकार निर्देशक मोहन निरौलाको ‘अदृश्य श्रम’ नामक सिरियलबाट अभिनय सुरु गरेकी जेनीले ‘जिन्दगानी’ फिल्मबाट अभिनेत्रीमा डेव्यु गरेकी थिइन् । त्यसपछि उनले लगातार मैदान, जीवनदाता, कानून, अभिमन्यु, मलाई माफ गरिदेऊ, हलचल, धूम, मिस्टर डन, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ लगायत करिब दर्जन फिल्ममा अभिनय गरिन् ।

फिल्ममा अभिनय गर्दै आएकी जेनीले ‘हलचल’ र ‘घायन’ नामक दुई फिल्म निर्माण समेत गरेकी छन् । उनी आफैले पनि केही म्युजिक भिडियोको निर्देशन समेत गरेकी छन् । उनका दुई छोरी र श्रीमान रहेका छन् । छोरीहरू भने अहिले अमेरिकामा रहेका छन् ।