‘रक्की और रानी कि प्रेम कहानी’मा रणवीर र आलिया

बलिउड फिल्म निर्देशक करण जोहरले पाँच वर्षपछि निर्देशनमा फर्किने भएका छन् । उनले मंगलबार नयाँ फिल्मको औपचारिक घोषणा गर्दै नयाँ फिल्म गर्न लागेको बताएका हुन् । उनले निर्माण गर्न लागेको फिल्मको नाम हो ‘रक्की और रानी कि प्रेम कहानी’ ।

उनले यस फिल्ममा अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट मुख्य भूमिकामा लिएर निर्माण गर्न लागेका हुन् । यस फिल्मको सबै काम सकेर छायांकनमा निस्कन मात्रै बाँकी रहेको समेत उनले बताएका छन् । फिल्मको स्क्रिप्ट इशिता मोइत्रा, शशांक खेतान र सुमित रोयले तयार पारेका हुन् । फिल्मको छायांकन नहुदै रिलिज गर्ने समयको समेत घोषणा गरिएको छ । निर्माणपक्षका अनुसार फिल्मलाई २०२२ मा रिलिज गर्ने तयारी छ ।
फिल्मको घोषणा गर्दै करणले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्ना मनपर्ने व्यक्तिलाई सामुन्ने राखेर क्यामेराको पछाडि गएर काम गर्न निकै उत्साहित छु ।’ बलिउडमा करण सफल निर्देशकमध्ये एक मानिन्छन् ।

फिल्म ‘कुछ कुछ होता हे’ बाट निर्देशनमा डेब्यू गरेका उनले ‘कभी खुशी कभी गम, कभी अलविदा ना कहना, माय नेम इज खान, स्टूडेन्ट अफ द ईयर’ जस्ता कयौं फिल्मको निर्देशन गरे । पछिल्लो पटक उनले फिल्म ‘ए दिल है मुश्किल’ को निर्देशन गरेका थिए ।