भुवन चैत्य वसुन्धरा फाउण्डेसनद्धारा चलचित्रकर्मी विपद व्यवस्थापन कोषलाई सहयोग
भुवन चैत्य वसुन्धरा फाउण्डेसनले वि.सं.२०७८ सालको हरिश भुवन चन्द पुरस्कार, चेतनारायण बसुन्धरा भुसाल पुरस्कार तथा चैत्यदेवी पुरस्कारको राशी कलाकारहरूद्वारा सञ्चालित सिन्धु सहायता कोष तथा चलचित्र विकास बोर्ड अन्तर्गतको फिल्मकर्मी बिपद व्यवस्थापन कोषलाई प्रदान गरिने भएको छ ।
चलचित्र कलाकारसंघले एक विज्ञप्ती जारी गर्दै कोभिडको दोश्रो भेरियन्टकासाथै निषेधाज्ञा तथा बाढी पहिरोले जनजीवनमा पुर्याएको क्षतिलाई मध्य नजर गर्दै यो वर्ष पुरस्कार स्रष्टा सर्जकलाई प्रदान नगरी दुई वटा कोषलाई हस्तान्तरण गर्न लागिएको बताएको हो ।
फाउण्डेसनकी अध्यक्ष वसुन्धरा भुसालको अध्यक्षतामा असार १७ गते बसेको बैठकले एक लाख दुई हजार रुपैयाँ सिन्धु सहायता कोषलाई तथा ५१ हजार रुपैयाँ फिल्मकर्मी विपद व्यवस्थापन कोषलाई हस्तान्तरण गर्ने निर्णय भएको फाउण्डेसनले जारी गरेको विज्ञप्ति भनिएको छ ।
फिल्मकर्मी बिपद व्यवस्थापन कोषलाई क्रियाशील बनाउनुपर्ने मान्यता राख्दै चलचित्र कलाकार संघले पचपन्न हजार रूपैयाँ प्रदान गरिसकेको छ भने सिन्धु सहायता कोषका संयोजक कृष्ण मल्ललाई एकलाख दुई हजार रूपैयाँ हस्तान्तरण गरिएको छ ।
साथै चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई प्रदान गरिने ५१ हजार रुपैयाँ नगद चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई हस्तान्तरण गरिने छ । यसअघि स्थापना वर्षको पुरस्कार चलचित्र विकास बोर्ड अन्तर्गतको फिल्मकर्मी कल्याण कोषलाई एक लाख ५३ हजार रूपैयाँ अर्पण गरिएको थियो भने गत वर्षको पुरस्कार चलचित्रकर्मी शकुन्तला शर्मा, नृत्य निर्देशक भैरवबहादुर थापा तथा फिल्मकर्मी मह जोडीलाई अर्पण गरिएको फाउन्डेसनका सचिव मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया