वैवाहिक जीवनबाट अलग्गिएका अञ्जु पन्त र मनोजराज शिवाकोटी सांगीतिक जीवनमा जोडिए

वैवाहिक जीवनबाट अलग्गिएको एक दशक पार गरे पनि गायिका अञ्जु पन्त र गायक तथा संगीतकार मनोजराज शिवाकोटी सांगीतिक जीवनमा जोडिएका छन् । दसकभन्दा लामो समयपछि उनीहरूले सँगै गीत गाएका हुन्।

धेरै वर्षअघि वैवाहिक सम्बन्ध टुंग्याएका अञ्जु र मनोजराजले सांगीतिक सहयात्रा भने पुनः जोडेका छन्। उनीहरुको युगल स्वरमा ‘तिमी आयौ जिन्दगीमा’बोलको गजल गीत सार्वजनिक भएको छ ।

सुरेश वाग्लेको शब्द रहेको गीतमा मनोजराजकै संगीत छ । तीन वर्षअगाडि नै रेकर्ड गरिएको गीतको हालै मात्र म्युजिक भिडियो छायांकन गरी सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा गीतकार वाग्ले स्वयं र उनकी श्रीमती प्रमिला कार्कीले अभिनय गरेका छन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियो नेपाली वेबसाइटको अफिसियल युट्युबमा हेर्न सकिन्छ।

एक छोरीकी आमा पन्तले हालै थिर कोइरालासँग विवाह गरेकी छन्।

गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसकअघि सम्बन्ध-विच्छेद गरेकी थिइन्।

उनीहरूकी एक छोरी छन्- परितोषिका पन्त। उनी पनि मोडलिङ क्षेत्रमै प्रवेश गरिसकेकी छन्। छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गरेको बताइएको छ।