वर्षा शिवाकोटीको प्रश्न : के यो देशमा साँच्चै नै न्याय मरिसकेको हो ?

अभिनेत्री वर्षा शिवाकोटी अन्यायका बारेमा सहन नसक्ने अभिनेत्री हुन् । उनी आफुलाई चित्त नबुझेको कुरा र अन्यायमा परेका बारेमा आवाज उठाउदै आएकी छन् । हालै भएको राउटे युवतीमाथीको यौन दुव्र्यवहारको घटनालाई लिएर सबैसामु प्रश्न गरेकी छन् । उनले ‘के यो देशमा साँच्चैै न्याय मरिसकेको हो ? प्रश्न गरेकी छन् ।

उनले लेखेकी छन्,‘ के यो देशमा साँच्चै नै न्याय मरिसकेको हो? अहिले पछिल्लो समयमा सार्वजनिक दुई घटनाले त्यस्तै देखाउँछन् । आफ्नै बुबा समानका ससुराबाट यौन उत्पिडन व्यहोरेर शंकाष्पद मृत्युवरण गरेकी सविता भण्डारी र राउटे युवती बलात्कृत भएका घटनाले हाम्रो समाजको विकृत पक्षलाई उजागर गर्छन्। न्याय दिने निकाय किन यस्ता घटनामा क्वीक एक्सनमा उत्रदैनन्?

यस्तो कारूणिक घटनालाई मसला बनाएर युट्युबरहरू संवेदनशील विषयमा चर्तिकला देखाइरहेका छन्। राज्यको न्याय प्रशासन भन्दा युट्युबरहरूको अपरेसन प्रभावकारी हुनु भनेको न्याय मर्नु नै हो। अझ रमाइलोको हिसाबले टिकटकमा लिपसिंकको होडबाजी छ। घटना संवेदनशील छन्, त्यसैले मेरो विनम्र अनुरोध छ, यस्ता घटनालाई मजाकको विषय नबनाऔं।

सक्छौँ भनें, हामी सबै मिलेर राज्यलाई दबाब सृजना गरौं। व्यक्ति कसैले कसैलाई सजाय दण्ड दिन सक्दैन, त्यसका निम्ति हाम्रो न्याय प्रशासनलाई मजबुत बनाउन हामी सबैले प्रभावकारी सहयोग र दबाब दिनु राम्रो हुन्छ। युट्युब र टिकटकमा राखिएका भिडियोले सम्बन्धित परिवारलाई कति पिडा होला ख्याल गरौं।’