६ सय लोक तथा दोहोरी गीतका कलाकारलाई सहयोग गर्दै प्रतिष्ठान

कोरोना र निषेधाज्ञाको कारण समस्यामा परेका कलाकारलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले लोकदोहोरी कलाकारहरुलाई सहयोग गर्ने भएको छ । प्रतिष्ठान र प्रतिष्ठानको उपत्यका समन्वय समितिले संयुक्त रुपमा लोकदोहोरी कलाकारहरुलाई सहयोग सामाग्री वितरण गर्ने जनाएको छ ।

उनीहरुलाई पहिलो चरणमा भोली २ सय लोकदोहोरी कलाकारहरुलाई सहयोग सामाग्री वितरण गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताएका छन् । उनका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यका समन्वय समितिसंँगै ९ वटा समितिभित्रका पूर्व, निवर्तमान र वर्तमान कार्यसमितिका दोहोरी गायक–गायिकाहरुलाई सहयोग वितरण गरिने छ ।

प्रतिष्ठानले सहयोग सामाग्रीमा चामल, दाल, तेल, मसला, चिनी लगायत दैनिक उपभोग्य सामाग्री रहेको छ । पहिलो चरणमा संस्थासँग आवद्धलाई सहयोग गरिसकेपछि संस्थासंघ भन्दा बाहिर रहेका काम गरिरहेका जस्तै दोहोरी साँझमा काम गरेका तर संस्थामा आवद्ध नभएका, त्यस्तै होचापुड्का संघ, नेत्रविहिन संघ, रेकर्डिङ स्टुडियोहरुमा काम गरेका कलाकारहरुलाई पनि राहत वितरण गर्ने अध्यक्ष बिजीको भनाई छ ।

प्रतिष्ठानका अनुसार अहिले राजधानीमा झण्डै एक हजार लोकदोहोरी कलाकारहरु समस्यामा रहेका छन् । यसवर्ष समस्यामा परेका ६ सय बढी लोकदोहोरी कलाकारहरुलाई खाद्यान्न सहयोग वितरण गर्ने योजना प्रतिष्ठानको छ ।