सञ्चारकर्मी रवि र निकिताले प्राविधिकलाई बाँडे खाद्यान्न

कोरोना भाइरसका कारण समस्यामा परेका फिल्म प्राविधिकहरुलाई चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा फिल्म निर्मात्री निकिता पौडेल र उनका श्रीमान् सञ्चारकर्मी रवि लामिछानेले खाद्यान्न सहयोग गरेका छन् ।

उनीहरुले कोरोनाका कारण समस्यामा परेका प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरेका हुन् । बिहीवार निकिताले आफ्नै उपस्थितिमा १८ जना प्राविधिकलाई खाद्यान्न सामाग्री सहयोग गरेकी हुन् । हिजो मात्रै अभिनेत्री स्वस्तिमा खड्काले प्राविधिकहरुको पीडामा मलहम लगाउने उद्देश्यले सहयोग अभियान नै थालेकी छन् ।

त्यस्तै केही दिन अगाडि अभिनेत्री करिश्मा मानन्धर, कलाकार तथा क्याप्टेन विजय लामा, अभिनेत्री सुमिना घिमिरे दाम्पतिले पनि प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरेका थिए । प्राविधिकहरुलाई आर्थिक सहयोग गर्ने फिल्मकर्मीको संख्या पनि बढ्दो छ । हालै कलाकार रुपा राणाले ३० हजार, अभिनेता रमेश उप्रेतीले २५ हजार, अभिनेत्री जेविका कार्कीले १५ हजार सहयोग गरेका छन् ।