‘तिम्रो मेरो साथ’को पत्रकारलाई आर्थिक सहयोग

फिल्म ‘तिम्रो मेरो साथ’ का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । उनले कोरोना कहरको महामारीबीच फ्रन्टलाइनमा काम गर्दै आएका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि भन्दै उक्त रकम प्रदान गरेका हुन् ।
अमेरिकामा बसोबास गर्दै आएका पौडेलले नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवालसहितको उपस्थितिमा रंग पत्रकार राजन घिमिरेमार्फत एसोसिएट प्रदेश अध्यक्ष वैकुण्ठराज पराजुलीलाई हस्तान्तरण गरिएको हो ।
एसोसिएट प्रदेश अध्यक्ष पराजुलीले कोभिड– १९ को संक्रमणका परेका र संक्रमणको जोखिममा रहेका सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाको चिन्ता गर्दै सहयोगका लागि हात अघि बढाएका पौडेलप्रति आभार व्यक्त गरे ।