‘आमा खान्डो’ उत्कृष्ट फिल्म घोषित गर्दै सकियो ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल

राजधानीमा आयोजना गरिएको पाँच दिने अनलाइन ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)’ सोमबार सकिएको छ । विभिन्न कलाकर्मीले फिल्मको समस्याका बारेमा आफ्नो आधारण राख्दै फिल्म हेर्दै अवार्ड कार्यक्रम सकिएको हो । महोत्सवमा विभिन्न फिल्महरुको प्रतिष्पर्धा गराइएको थियो ।
जसमा फिचर फिल्मको तर्फबाट डान्डुप छिरिङ निर्देशित ‘आमा खान्डो’ उत्कृष्ट फिल्म घोषित गरिएको छ भने यसै फिल्मबाट निर्देशन तर्फको अवार्ड हात पारेको छ । उत्कृष्ट फिल्म घोषित यस फिल्मले एक लाख नगद प्राप्त गरेको छ । त्यस्तै,अभिनेता तथा अभिनेत्रीको अवार्ड अभिनेता नविन शिल्पकार र अभिनेत्री सरिता गिरीले हात पारेका छन् । उनीहरुले फिल्म ‘लाटकोसेरो’फिल्मकातर्फबाट अवार्ड हात पारेका हुन् । साथै यही फिल्मबाट निर्देशक शिरिष गुरुङले छायांकनको अवार्ड जित्न सफल भए ।

महोत्सवमा ‘उत्कृष्ट पटकथा’को अवार्ड ‘सरिता टेल मि हु आइ एम’बाट सर्जियो बासोको पोल्टामा पर्यो भने अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ फिचर फिल्मको ‘गौतम बुद्ध अवार्ड’ बात्र्या बसु निर्देशित ‘डिक्स्नेरी’ले जित्न सफल भयो । दुवै फिल्मले १५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्यो ।
छोटो फिल्म तथा डकुमेन्ट्री प्रतिस्पर्धामा रहेको अन्तर्राष्ट्रिय फिल्म विधामा दक्षिण कोरियाको ‘गड्स डटर डान्सेज’ले ५ सय डलर पुरस्कार राशि रहेको ‘बागमती पुरस्कार’ हात पार्यो । साथै नेपालको तर्फबाट फिल्म ‘जुलुङ्गो’ उत्कृष्ट ठहरियो । राजेशप्रसाद खत्री निर्देशित फिल्म ‘जुलुङ्गो’ ले पनि ५ सय डलर नै पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

महोत्सवमा फिनल्यान्डको फिल्म ‘उबरफ्रग’ले एनिमेटेड विधामा ७ सय ५० डलर पुरस्कार राशिको रकम प्राप्त गर्दै ‘मञ्जुश्री अवार्ड’ हात पार्यो । वृत्तचित्रतर्फ स्वीजरल्यान्डको ‘रिटर्न टु दि लस्ट इडेन’ले १ हजार डलर पुरस्कार राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ जित्न सफल भयो ।
फिल्म ‘सिभिल सोल्जर्स’ले ५ सय डलर राशीको पुरस्कार हात पार्न सफल भयो । यस फिल्मलाई गणेश पाण्डेले निर्देशन गरेका हुन् । ५ दिनसम्म चलेको ‘निफ’ फिल्म फेस्टिभलमा नेपाली अभिनेत्रीहरुले फिल्ममा महिला कलाकारलाई पारिश्रमिकमा भेदभाव भएको कुरा दर्शाएका थिए ।