करिश्माको प्रश्न : पारिश्रमिकको विषयमा हिरो हिरोइनमा विभेद् किन ?

नेपाली फिल्म क्षेत्रमा अभिनेताको भन्दा अभिनेत्रीको पारिश्रमिक निकै कम छ । अभिनेताको पारिश्रमिक ५० लाखको कुरा उठ्दा अभिनेत्रीको पारिश्रमिक आधा भन्दा नि कम हुन्छ । काम भने अभिनेता र अभिनेत्रीको उस्तै नै हो । यहि विषयलाई अभिनेत्री करिश्मा मानन्धरले महिला र पुरुषमा पारिश्रमिकमै विभेद रहेको औल्याएकी छन् ।

केहि अभिनेत्रीले २० लाख पारिश्रमिक तोकेका छन् भने अन्यले त्यो भन्दा आधामा काम गरेको उदारहण धेरै छन् । यो कुरा बेला बेलामा उठ्दै आइरहेको पनि हो । तर, अभिनेत्री लिनेक्रममा फिल्मकर्मीले थोरै पारिश्रीमक लिने अभिनेत्री नै रोज्ने गरेका छन् । चलिरहेको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (नीफ) को तेस्रो दिनका दिन सहभागी भएकी करिश्माले यस्तो बोलेकी हुन् । उनले नेपाली फिल्म क्षेत्रमा अभिनेताको तुलनामा अभिनेत्रीले पारिश्रमिक अत्यन्त कम पाउने गरेको भन्दै यस्तो विभेद हुनु दुःखद भएको बताईन् ।

उनले महिला र पुरुष बराबर भएको मामिलामा पारिश्रमिकका हिसावले हेर्ने हो भने निकै कम भएको दावी गरेकी छन् । उनले महोत्सवमा भनिन्,‘ फिल्म क्षेत्रमा पारिश्रमिकमा पुरुष सहकर्मीको तुलनामा महिला कलाकारले एकदमै कम पाउने गरेका छन् । यो अन्याय हो ।’
महिला कलाकार र पुरुष कलाकारले बराबर काम गरेको छ भने पारिश्रमिक पनि बराबर हुनुपर्ने करिश्माले बताईन् । उनले यदि महिलाले पुरुष सरह मिहिनेत गरेको छ खण्डमा पारिश्रमिक पुरुषको जतिकै हुनुपर्ने र सबैलाई समान नजरले हेर्नुपर्नेमा जोड दिएकी छन् ।