कोरोना संक्रमितको लागि अक्सिजन र एम्बुलेन्समा जुटे कलाकार

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अक्सिजन लगायतको चरम अथाव देखिन थालेको छ । देशभरका अस्पतालमा अक्सिजनको खपत बढेको छ भने आर्थिक अवस्था कमजोर भएका कोरोना संक्रमितले अक्सिजनको अभावमा अस्पतालको शय्यामा छट्पटाउनु परेको समाचारबा बाहिरिएपछि कलाकारहरु अक्सिजनका सिलिन्डर कोरोना संक्रमितलाई सहयोग गर्न थालेका छन् ।
अभिनेत्री श्वेता खड्का र उनका श्रीमान विजयन्द्र सिंह रावतले हाम्रो टिम नेपाललाई आर्थिक सहयोग गरेको बताएका छन् । उनीहरुले निःशुल्क खाना वितरणका साथै कोरोना संक्रमितका बिरामीलाई निःशुल्क अक्सिजन जुटाउनका लागि ५० हजार सहयोग गरेको सञ्जालमा उल्लेख गरिएको छ । अभिनेत्री स्वेताले मानवीय सहयोगको अभियानमा जोडिन पाएकोमा आफु खुसी भएको बताएकी छन् । साथै यो अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेकी छन् ।
यस अघि नेता पल शाहले अक्सिजनका सिलिन्डर संकलन गरेर विभिन्न सरकारी अस्पताललाई निःशुल्क हस्तान्तरण गर्दै आएका छन् । उनले सिलिन्डर ग्याँस बोकेको तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल पनि भइरहेका छन् । साथै अक्सिजन खरिदका लागि हाम्रो टिम नेपाललाई पलले २ लाख सहयोग पनि गरेका छन् ।
पल शाहले अक्सिजन जुटाउन थालेपछि अभिनेता निखिल उप्रेती , केदार घिमिरे (माग्ने बुढा)सहितको समुहले पनि अक्सिजनसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएका छन् । अहिले विभिन्न अस्पतालमा अक्सिजन,भेनिन्टिलेटरको चरम अभाव भएको छ । अक्सिजन नपाएर कोही नेपाली मर्नु नपरोस भन्दै कलाकारहरु आर्थिक जुटाएर समाजसेवामा लागि परेको बताएका छन् ।