अस्ताए ‘घुम्तीमा नआउ है’ का गायक प्रेमध्वज प्रधान

बरिष्ठ सङ्गीतकार एवम् गायक प्रेमध्वज प्रधानको आज दिउँसो निधन भएको छ । उनको बिहिबार अपरान्ह बसुन्धरास्थित न्यूरो अस्पतालमा उपचारकाक्रममा निधन भएको हो । नेपाली सांगितिक क्षेत्रमा लोकप्रिय प्रधान विसं. १९९४ सालमा सिन्धुपाल्चोकमा जन्मिएका हुन् ।

बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका प्रधानको ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै लोकप्रिय गीत रहेका छन् ।

रेडियो नेपालमा सात सयभन्दा बढी गीत रेकर्ड गरेका गायक प्रेमध्वजले बलिउड गायिका उषा मंगेशकरसँग माइतीघर फिल्मको युगल गीतसमेत गाएका छन् । उनका पत्नी किरण देवी र दुई छोराहरू प्रसन्न र कविर प्रधान रहेका छन् ।