‘मेरो पनि होइन र यो देश ?’ नसोचेको सफलता –गायक प्रकाश सपुत

गायक प्रकाश सपूत अन्य भन्दा फरक तरिकाले स्रोता तथा दर्शकमाझ श्रृजना पस्कने कलाकार हुन् । उनका गायन तथा गीतका भिडियोमा स्रोता दर्शकले छुट्टै किसिमको कन्सेप्टका भिडियोहरु हेर्न पाउँछन् । ब्याटल दोहोरी देखि लोक तथा अन्य गीतमा उनका आवाजले चर्चा पाउँछन् । उनले गाएका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’ लगायतका गीतले छुट्टै दर्शकमाझ छाप छोडेको छ भने शुक्रबार मात्रै उनले एक देशभक्ती गीत सार्वजनिक गरेका छन् ।

उनले ‘मेरो पनि होइन र यो देश ?’ बोलको गीत सार्वजनिक गरे लगत्तै युटुवको टे«न्डिङ १ मा परेको छ । गीतले ३ दिनमै १६ लाख बढी दर्शकले हेरिसकेका छन् । गीतमा अनारिकको महसुस भएको महसुस गीत मार्फत भन्न खोजिएको छ । प्रकाश सपुतले मेरो फिल्मसँगको कुराकानीमा भने ,‘अझै पनि नेपालमा अनागरिक रहेको महसुस गर्नुपर्ने अवस्था रहेको छ । किनभने नागरिकता बनाउन देखि लिएर हरेकमा राज्यको अनुभुति आम मान्छेले गर्न पाएका छैनन् । उनीहरुलाई हरेक कुरामा राज्यबाट अलग राखिएको छ ।’

गीतमा देशको सांस्कृतिक विविधता र विविधताभित्रको दुःख र वेदनाहरुलाई प्रस्तुत गर्न खोजेका छन् । त्यस्तै गीतमा हिमाल, पहाड, तराईको सांस्कृतिक पहिचान झल्काउने संगीत, नृत्य तथा लवजलाई प्रस्तुत गरेका छन् । राष्ट्रभावसँग ओतप्रोत भएको गीतमा शब्द, संगीत र स्वर प्रकाशको छ । गीतको भिडियोलाई राष्ट्रिय नाँचघरमा छायांकन गरिएको हो भने।

भिडियोमा प्रकाश आफैले पनि अभिनय गरेका छन् । उनका साथमा भोलाराज सापकोटा, रामभजन कमात, कुलदिप अधिकारी, रविन तामाङ्ग, अमर न्यौपाने, सरिता लामिछाने, राजु परियार, ऋषि धमला र देबेन्द्र बब्लुलाई पनि भिडियोमा देख्न सकिन्छ । गीतको भिडियोलाई प्रकाश स्वयंमले निर्देशन गरेका हुन् । नवराज उप्रेती र रविन्द्र न्यौपानेको छायांकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।