नेपाल अफ्रिका फिल्म फेस्टिबलमा दुर्गामाण्डु बन्यो उत्कृष्ट

शुक्रबारदेखि शुरु भएको नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२१ उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै आईतबार समापन भएको छ । महोत्सवमा यो वर्षको बृत्तचित्रबाट गणेश पाण्डे निर्देशित तथा सारदा गैरे निर्मित बहुपति प्रथामा आधारित बृत्तचित्र ‘सहायक श्रीमान’ (को हजबेन्ड) उत्कृष्ट भएको छ । यो बृत्तचित्र हिमाली भेकमा बसोबास गर्दै आएका शेर्पा समुदायका महिलाहरुमा जारी बहुपति प्रथामा केन्द्रित थियो ।
कथानक फिल्मतर्फ हिमाल उप्रेती निर्देशित तथा भूपेन्द्र कुमार खड्का निर्मित फिल्म ‘आमा’ उत्कृष्ट भएको छ । आमा बृद्धा आमा बुबालाई बृद्धाश्रममा राख्नेहरुको कथामा आधारित फिल्म रहेको थियो । यस्तै यो वर्ष डक्युड्रामा तर्फ माधवराज खरेल निर्मित एवम् निर्देशित बृत्तचलचित्र ‘दुर्गामाण्डु’ उत्कृष्ट भएको छ । सुदुरपश्चिममा अझै कुप्रथाको रुपमा रहेको छाउपडी समस्या बृत्तचित्रमा देखाइएको थियो ।

उत्कृष्ट तीन वटै फिल्मलाई जनही ५ हजार रुपैयाँ सहित आदिम पुरस्कार प्रदान गरिएको छ । अभिनेता प्रदीप बास्तोला, सञ्चारर्मी जीवन पराजुली, गायिका सरिता भारतीसहित पाँच जनाको निर्णायक टिमले उत्कृष्ट फिल्मको चयन गरेका हुन् । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनद्धारा आयोजित नवौं संस्करणको महोत्सब समापन समारोहमा नेपालका निमित्त अफ्रिकी मुलुक इथोपियाका कन्सुलेट राजेन्द्र गिरीले उत्कृष्ट पुरस्कार प्रदान गरेका थिए ।

यो महोत्सबले नेपालमा अफ्रिकालाई सिनेमाबाट चिनाउन ठुलो सहयोग पु¥याएको उनले बताए । फिल्म निर्देशक तथा सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले समापन समारोहमा पुरस्कार प्रदान गर्दै नेपाली भन्दा अफ्रिकन फिल्महरु धेरै माथि भएको र ति फिल्मबाट धेरै सिक्ने अबसर पाएको बताए । निर्देशक मनोज पण्डितले अफ्रिकनको तुलनामा नेपाली फिल्म र यसका समस्याबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यस्तै,अन्तरक्रियामा गणेश खनियाँले अफ्रिकाको जीवनशैली, सिनेमा, नेपाल र अफ्रिकाको सम्बन्धबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
महोत्सवबाट आफुहरुले निरन्तर नौ वर्षदेखि नेपाल अफ्रिकालाई जोड्ने कार्य गरेको आयोजक संस्था कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी अध्यक्ष डा. मञ्जु मिश्रले समापन समारोहमा बताईन् । महोत्सव निर्देशक डब्बु क्षत्रीले कोरोनाको महामारीबीच पनि सामाजिक दुरी कायम गर्दै महोत्सव सम्पन्न सफलता पुर्वक सकिएको भन्दै खुसी व्यक्त गरे । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार उद्घाटन गरेको यो महोत्सवमा नेपालमा ७ वटा र अफ्रिकामा ८ वटा फिल्म प्रदर्शन गरियो ।