‘मेरो पनि होइन र यो देश ?’ भन्दै आए प्रकाश सपुत

काठमाडौं– गायक प्रकाश सपूतले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले लोकतन्त्र दिवसको छेको पारेर ‘मेरो पनि होइन र यो देश ?’ बोलको गीत सार्वजनिक गरेका छन् । गायक सपुतले यो गीतलाई राष्ट्रिय गीतको रुपमा तयार पारेका छन् । गीतमा गायक प्रकाश सपूतकै शब्द, संगीत तथा स्वर रहेको छ । गायक प्रकाशले गीतमार्फत सपूतले देशप्रतिको अगाढ प्रेमलाई देखाउन खोजेका छन् ।

गीतमा देवेन्द्र बब्लू, सुनिल बिक, अमित सुनार, विशाल घिमिरे, आकाश नेपाली, प्रेमा राना मगर, ज्ञानु परियार, पार्वती सुवेदी, मीना शिरिष, रुपी सिञ्जाली मगर लगायतले सामुहिक स्वर दिएका छन् । गायनदेखि अभिनय र निर्देशनसम्म उत्तिकै सफल प्रकाशले भिन्न शैलीको गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

गीतमा श्यामश्वेत रसाइलीको संगीत संयोजन, पृष्ठभूमि संगीत, साउण्ड डिजाइन, मिक्सिङ तथा मास्टरिङ छ । भुवन गन्धर्वले गीतमा धिमे, च्याब्रुङ, झ्याली बजाएका छन् । गीतको भिडियोलाई प्रकाशले नै निर्देशन गरेका छन् । भिडियोमा गायक सपूतका अलवा भोलाराज सापकोटा, रामभजन कामत, कुलदीप अधिकारी, रबिन तामाङ,सरिता लामिछाने, गायक राजु परियार, पत्रकार ऋषि धमला तथा लेखक अमर न्यौपानेलाई लगायतको अभिनय देख्न सकिन्छ । नवराज उप्रेती तथा रबिन्द्र न्यौपानेले यो भिडियो छायांकन गरेका हुन् भने प्रविण भट्ट यसका सम्पादक हुन् ।