‘कबडी ४’ मा अटाएनन् पुराना कलाकार

नेपाली मौलिक कथावस्तुमा निर्माण भएको फिल्म ‘कबड्डी’को सिरिजमा पुराना कलाकार नरहने भएका छन् । बैशाख अन्तिमबाट छायांकनमा निस्कने तयारीमा रहेको फिल्म ‘कबडी४’मा उपसना सिंह ठकुरी, निश्चल बस्नेत लगायतका कलाकार नहुने भएका हुन् ।

फिल्मको स्क्रिप्टदेखि कलाकारसम्म सबै फाइनल भइसकेको निर्माणपक्षले जानकारी दिएको छ । रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको फिल्मको प्रदर्शन मिति समेत तोकिसकिएको छ । फिल्म छायांकनमा नजाँदै फिल्मको रिलिज मिति असोज १५ गतेलाई घोषणा गरिएको छ ।
केहि समय अघि ‘कबड्डी’ को अन्तिम सिरिजमा कबडी देखि तेस्रो पार्टसम्म अभिनय गर्ने सबै कलाकार दोहोरिने हल्ला चलेको थियो तर, अव भने नदोहोरीने भएका हुन् । तीनवटै सिरिजमा अभिनय गरेकी रिश्मा गुरुङ, पहिलो पार्टका अभिनेता निश्चल बस्नेत र ‘कबडी कबडी कबडी’ अभिनेत्री उपासना सिंह ठकुरी ‘कबडी ४’मा नहुने भएका छन् ।

फिल्मको कथा अनुसार फिल्ममा निश्चल, रिश्मा, उपासनाका अलवा विल्सन विक्रम राई र कर्माको अभिनय रहने छैन । निर्माता मणीराम पोखरेलका अनुसार फिल्ममा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतको अभिनय रहनेछ । नेपाली फिल्म क्षेत्रमा कबडी फिल्मलाई नेपाली मौलिकपन भएको फिल्मका रुपमा लिने गरिन्छ । यस कारण पनि यो फिल्म एउटा ब्राण्डका रुपमा परिचित छ । हरेक कलाकारले यो फिल्ममा आँखा चिम्लिएर अभिनय गर्न राजि हुने गरेका छन् ।