किपालयले १०जना महिलालाई डकुमेन्ट्री बनाउन सिकाउँदै
किपालय प्रडक्सनले प्लान इन्टरनेसनलसँग मिलेर १० जना महिलालाई डकुमेन्ट्री फिल्म मेकिङको ज्ञान दिने भएको छ । प्लानको विश्वव्यापी अभियान ‘गल्स गेट इक्वेल रिप्रजेन्टेसन’अन्तर्गत महिला लक्षित डकुमेन्ट्री कार्यशाला हुन लागेको हो । नेपाली फिल्महरूमा महिलाको चरित्र चित्रण अस्वभाविक र यथास्थितिवादी रहेको टिप्पणी हुने गरेको छ । महिला सम्बन्धि थुप्रै ‘स्टेरियोटाइप’ चिर्न र फिल्म निर्माणमा महिलाको संख्या बढाउने उद्देश्यले कार्यशाला गर्न लागेको आयोजकले जनाएको छ ।
कार्यशालाकी प्रबन्धनिर्देशक आश्मा पोखरेलले कार्यशालाका लागि देशभरबाट आवेदन मागिने र यसरी आएका आवेदनबाट १० जनालाई छनोट गरिने बताईन् । ‘महिला फिल्म मेकरलाई फिल्म निर्माणमा आधारभूत ज्ञान दिने उद्देश्यले यो कार्यशाला गर्न लागेका हौं । यसमा फिल्म निर्माणमा रुचि हुने देशभरका महिला फिल्मकर्मीले सहभागिताका लागि आवेदन दिन सक्नुहुनेछ,’आश्माले भनिन् ।
आश्माका अनुसार कार्यशालाको समयावधि १ महिनाको रहनेछ भने कार्यशाला काठमाडौ र चित्लाङ गरी दुई ठाउँमा सम्पन्न हुनेछ । उनले कार्यशालामा फिल्म निर्माणको धेरथोर अनुभव भएका महिलालाई प्राथमिकता दिने बताईन् । किपालयका प्रोजेक्ट हेड नव विजय श्रेष्ठले सैद्धान्तिक र प्रायोगिक दुवै विधिको प्रयोग गरी कार्यशाला सञ्चालन गर्ने बताए । ‘छानिएका १० जनालाई हामीले पहिलो चरणमा काठमाडौंमै फिल्म मेकिङका आधारभूत ज्ञान दिन्छौं र दोस्रो चरणमा मकवानपुरको चित्लाङमा साँच्चिकै फिल्म कसरी बनाउने भन्ने बारेमा सिकाउँछौं,’ नवले भने ।
कार्यशालामा १८ देखि २४ वर्ष भित्रका महिलाले आवेदन दिन सक्नेछन् भने इच्छुक फिल्मकर्मीले यही अप्रिल २३ अर्थात् आउँदो शुक्रबार सम्ममा निवेदन सक्नेछन् । कार्यक्रममा आवेदनका लागि कुनै शुल्क नतोकिएको किपालय प्रडक्सनले जनाएको छ । यो सँगै कार्यक्रममा छनोट हुने १० जना फिल्म मेकरले पनि कुनै पनि चरणमा पैसा तिर्नु पर्नेछैन । कार्यशालासँगै खाने, बस्ने र सुटिङसम्मको सुविधा पनि आयोजक स्वंयले बेहोर्ने भनिएको छ ।
प्रतिक्रिया