चलचित्र पत्रकार संघको कल्याणकारी कोषलाई ‘श्री’को २५ हजार

निर्देशक एभरेष्ट सुर्य बोहराको फिल्म ‘श्री’ दोस्रो हप्तामा प्रवेश गरेको उपलक्ष्यमा चलचित्र पत्रकार संघ नेपालको कल्याणकारी कोष अभियानमा २५ हजार एक सय पाँच रुपैंया सहयोग गरेको छ । हिजो राजधानीको बानेश्वरस्थित वान सिनेमाजमा विशेष शोको आयोजना गर्दै निर्मात्री सविता गुरुङ र वितरक करण श्रेष्ठले चलचित्र पत्रकार संघ नेपालको कल्याकारी कोषको उक्त रकम सहयोग प्रदान गरेका हुन् ।


कार्यक्रममा संघका तर्फबाट अध्यक्ष दिनेश सिटौला, उपाध्यक्ष जीवन पराजुली, महासचिव समीर बलामी, कोषाध्यक्ष प्रदिप कार्की, सचिव रघुनाथ सापकोटा,सचिव बिशाल राई, कार्यसमिति सदस्य आशिष ओली र कार्यसमिति सदस्य सृस्टि पोखरेलको उपस्थिति रहेको थियो भने फिल्म ‘श्री’का तर्फबाट निर्मात्री सविता गुरुङ, वितरक करण श्रेष्ठ, कलाकार सन्दीप क्षेत्री, भोला सापकोटा लगायत उपस्थित भएका थिए ।

चलचित्र पत्रकार संघलाई रकम हस्तान्तरण गर्दै फिल्म निर्मात्री सविता गुरुङले चलचित्र पत्रकारहरुको कारण कोरानाकै बीचमा फिल्म ‘श्री’को प्रचार प्रसारमा सहयोग पुगेको भन्दै कल्याणकारी कोषमा थोरै रकम भएपनि सहयोग गरेको बताइन् । पत्रकारका कारण नै फिल्मले दोस्रो हप्तामा प्रदर्शन हुन सकेको सविताले बताईन् । यस्तै फिल्म वितरक करण श्रेष्ठले फिल्म ‘श्री’ ले अहिलेको अवस्थामा पनि काठमाडौंबाटै ७ लाख बढि व्यापार गरेको र ‘श्री’ ले केही हदसम्म भएपनि हलमा दर्शकको चहलपहल बढाएको दावी गरे ।
चलचित्र पत्रकार संघ नेपालले आगामी जेष्ठ ७ गते २० लाख रकम सहितको कल्याणकारी कोष घोषणा गर्ने तयारीमा छ । हालसम्म कल्याणकारी कोषमा निर्माता तथा प्रदर्शक सुमित मैनालीले ५१ हजार र निर्देशक जनकदीप पराजुलीले २५ हजार ५ सय सहयोग गर्ने यस अघि नै घोषणा गरिसकेका छन् । सहयोग जुट्ने क्रम जारी रहेको संघका अध्यक्ष सिटौलाले बताएका छन् ।