फिल्म क्षेत्रलाई पछि धकेलेर बिदा हुँदै २०७७


भोलीबाट नयाँ बर्ष । क्यालेन्डर फेरिदैछ । वि.सं २०७८ साल । यो बर्ष लाग्दा नेपाली फिल्ममा भने छैन चमक । अझै के हुने हो भन्ने अन्यौलले नै सताएको छ । नयाँ बर्ष त आयो, दर्शक हलमा मारामार हुने बेलामा खाली हल । प्रदर्शकलाई पनि चिन्ता । चिन्तै चिन्ताले सताएको फिल्म क्षेत्र ।

बिदा हुँदै गरेको यो बर्ष । वि.सं २०७७ साल । नेपाली फिल्मका लागि कहालीलाग्दो बर्ष । कलाकार, प्राविधिक, निर्देशक, प्रदर्शक, निर्माता । सबैका लागि दिक्क लाग्दो बर्ष भयो यो ।

जम्मा रिलिज भएका रहेछन् ४ वटा फिल्म । सबै फिल्म पत्तासाफ । चलेनन् फिल्म । दर्शकको त हलमा अनुहार देख्न गाह्रो भयो । हलमा दर्शक नभएपछि फिल्म रिलिज गर्न मानेनन् । एक बर्ष धेरै कुरे केही निर्माताले त फिल्म बनाएर । अझै, कहिले पालो आउँछ रिलिजको भनेर भन्न गाह्रो भयो ।

भूकम्पले पछि धकेलिएको थियो नेपाली फिल्म केही बर्ष । कोरोनाले त अस्तव्यस्त बनाएको छ । कती बर्ष यस्तो हो थाहा भएन । अझै फिल्म चलाउने वातावरण बनेको छैन । कहिले बन्छ भनेर पनि थाहा छैन । अवस्था भयानक ।

फिल्म रिलिजका लागि थुप्रिए । चलाउन पाएनन् । हलमा दर्शक नगएपछि कारोबार भएन । फिल्म बनाउनेको पैसा फ्रिज । बनाउन चाहनेको अन्यौलता । कलाकार फिल्म खेल्ने कि के गर्ने भनेर दोधारमा ।

अघिल्लो बर्ष ६० वटा भन्दा धेरै रिलिज भएको रहेछ । त्यो अघि त सय नै कटेको । यो बर्ष ४ वटा । डराई डराई फिल्म निर्माण त भएका छन् । रिलिज कहिले हुन्छ । पुरानो अवस्था आउँछ कहिले । फिल्म क्षेत्र अन्यौलमा बाचेको छ । बाच्छ कहिलेसम्म ।

नेपाली फिल्मलाई पछि धकेलेर बिदा हुँदैछ वि.सं २०७७ साल । भोलीबाट लाग्ने नयाँ बर्षले पनि सुखद सन्देश देला कि नदेला थाहा छैन । अरु क्षेत्र धराशायी त भए । फिल्म क्षेत्र उत्तानो परेको छ ।