दर्शकले रुचाए ७२ घण्टामा खिचिएको ‘श्री’

काठमाडौं : नेपाली चलचित्र इतिहासमै ७२ घण्टामा छायांकन सकिएको फिल्म ‘श्री’ हिजोबाट रिलिज भएको छ । शुक्रबार अर्थात् २७ गतेबाट प्रदर्शन गर्ने फिल्म ‘श्री’लाई दर्शकले मन पराइदिएका छन् । देशभरका हलमा राम्रो व्यापार गरिरहेको फिल्म वितरक करण श्रेष्ठ (क्रेजी)ले बताएका छन् । उनले भने,‘देशभरका हलमा अहिलेसम्म राम्रो दर्शक आइरहेको प्रतिक्रिया पाएको छु । टिकट पनि राम्रै विक्री भइरहेको सुन्नमा आएको छ । यसकारण म निकै उत्साहित भएको छु ।’

फिल्मलाई एभरेष्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा लकडाउनको समयमा तयार पारेको फिल्म हो । हाल अमेरिकामा रहेका सुर्यले गत शुक्रबार चलचित्रको ट्रेलर रिलिज गर्दै ओटीटीमा प्रदर्शन गर्न लागेको जानकारी निर्दैशक बोहोराले दिएका थिए । यसबारेमा चलचित्र बितरक करण श्रेष्ठले हलमा लगाउन निर्देशक बोहोरालाई भनेपछि अचानक एक सातामा नै हलमा प्रदर्शन गर्न निर्देशक बोहोरा राजी भएका थिए।
नयाँं बर्षको अबसर पारेर दर्शकमाझ आएको फिल्म ‘श्री’ मा सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल,बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ,सविता गुरुङ,नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् ।

सोसियल सस्पेन्स कथामा निर्माण गरिएको फिल्ममा निर्माता श्री पराजुली र सविता गुरुङ निर्माता रहेका छन् भने सह–निर्मातामा यम बराल,सूर्य सिम्खडा (साइराम),बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम रहेका छन् । निर्देशक बोहराकै लेखनमा शिबम अधिकारीले सघाएको फिल्मलाई शेरबहादुर तामाङले खिचेका हुन् । सुजन बडालको सम्पादन र एलिस कार्कीको ब्याकराउण्ड स्कोर छ । ‘श्री’ हलका साथै ओएसआर डिजिटलका बिभिन्न एप्लिकेसनमा समेत प्रदर्शन गरिदैछ । फिल्म एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको हो । यो फिल्मसँगै ‘गुड फ्रेण्ड पनि रिलिज भएको छ ।

समसामयिक प्रेमकथामा आधारित एक्शन प्रधान फिल्म ‘गुड फ्रेण्ड’ हिजोबाट नै प्रदर्शनमा आएका छन् । बिजि बर्मा फिल्मस् प्रालिको लागि वसन्त बर्मा प्रस्तुतकर्ता रहेको फिल्म ‘गुड फ्रेण्ड’ मा मुकेश ढकाल, सविना कार्की, एलबि कटुवाल, वसन्त बर्मा, राजन महर्जन, पुजा महर्जन, राज सिंह आदिको अभिनय रहेको छ । फिल्ममा पम्फा बर्मा, फारुबी बर्मा निर्माता रहेका छन् । द्धन्द प्रदिप खड्का, संगीत ध्रुब बिश्को, नृत्य अजय स्याङतान, राजन महर्जन, निर्देशन राजबहादुर साने, छायांकन केशब अधिकारी, सरोज महर्जनको रहेको छ ।