‘अनन्त’मा बाँधियो कार्म र लक्ष्मीको जोडी

फिल्म अनन्त निर्माण हुने भएको छ । यस फिल्मका लागि अभिनेता कार्म र लक्ष्मी बर्देवालाई दर्शकले जोडीका रुपमा देख्न पाउनेछन् । उनीहरुको जोडी फिल्ममा पहिलोपटक पर्दामा बाँधिएको हो । कार्म र लक्ष्मी रंगमंच हुदै पर्दामा आएका कलाकार हुन् ।


फिल्ममा मुख्यकलाकारको फाइनल भएपछि आजैबाट फिल्मको छायांकन सुरु गरिएको छ । फिल्मको भक्तपुरमा सुटिङसमेत सुरु भएको हो । टाइम ट्राभल लभस्टोरी विधाको यो फिल्मलाई जेसन लोप्चनले निर्देशन गर्न लागेका हुन् । अस्कर फिल्म कलेजबाट ग्राजुएसन गरेका उनले केही लघु फिल्मको निर्देशन गरिसकेका छन् ।

फिल्मलाई २० दिनमा सुटिङ सक्ने लक्ष्य निर्माण पक्षको छ । फिल्मको पटकथा जेसनले नै लेखेका हुन् । फिल्मलाई नवविजय श्रेष्ठले निर्माण गर्न लागेका हुन् । सह–निर्माताको रुपमा रन्जन ढुंगाना र शीतल खड्का रहेका छन् भने तेजबहादुर श्रेष्ठ र दीपेश राउत सहायक निर्माताको रुपमा रहनेछन् । फिल्मलाई बबिन दुलालले खिखिरहेका छन् । फिल्मलाई काठमाडौंमा करण श्रेष्ठ र जीजीए ग्रुप मिलेर वितरण गर्नेछन् ।