फिल्मको कथावस्तुमा ध्यान दिन धिरेन शाक्यको सुझाव

नेपाली फिल्ममा कथाको अभाव हुने गरेको चर्चा लामै समय भइसकेको छ । कथाको विषयमा बेला बेलामा बहस पनि हुने गरेका छन् । यसबारेमा फेरि अभिनेता धिरेन शाक्यले कुरा उठाएका छन् । उनले कोरोना महामारीको समयमा घरमा नै बसेर दर्शकले विश्वको हिट हिट फिल्म हेरेका कारण झारे झुरे कथामा दर्शक नअल्झिने बताए ।

उनले उत्कृष्ट कथा भएमा मात्र नेपाली फिल्म चल्ने र कथामा ध्यान दिन सबैमा अनुरोध गरे । हिजो चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले गरेको साक्षात्कार कार्यक्रममा धिरेनले दर्शकले खोजे अनुसारको फिल्म दिनका लागि अभिनयमा पनि जोड दिनुपर्ने बताए । राम्रो कथा र फिल्म निर्माण नभएको खण्डमा कोरोनाले थिलथिलो बनाएको फिल्म क्षेत्र चलायमान हुन नसक्ने धिरेको भनाई छ । उनले अहिले नै फिल्मको घोषणा र प्रदर्शनका लागि हतार नगर्न धिरेनले फिल्मकर्मीलाई सुझाव दिए ।

कार्यक्रममा निकै बेर अल्झिएका धिरनले लामो समय पछि दाङ आएको कुरा उल्लेख गर्दै कोभिडको समयलाई सदुपयोग गर्दै फिल्मकर्मीहरुले आफूलाई माझ्ने र सिक्न सुझाव दिए । खाली समयलाई अवसरको रुपमा लिन पनि उनले आग्रह गरे ।
अभिनेता शाक्यले दाङलाई फिल्म नगरीको रुपमा विकास गर्नका लागि थुप्रै सम्भावना रहेको र आफुले निर्माण गर्ने फिल्म पनि दाङमा गर्न सकिने सम्भावना रहेको सुझाव दिए । उनले भने, ‘भौगोलिक हिसाबले राजधानीबाट टाढा भए पनि दाङमा फिल्म छायांकन गर्न सकिने ठाउँहरु धेरै छन् ।’

धिरेन ‘मन्जिल’ फिल्मको को छायांकनका लागि दुई हप्ता दाङ पुगेका थिए । राजेश हमाललाई लिएर फिल्म निर्माण गर्ने कुरा के भयो भन्ने पत्रकारको प्रश्नमा धिरेनले भने,‘बैशाखदेखि छायांकन सुरु गर्ने योजना थियो । तर, कोरोनाको दोस्रो लहरले तत्काल फिल्म निर्माण गर्न नसकिने भएको छ । यो समयमा अब हामी कथालाई बलियो बनाउन थप मेहेनत गर्नेछौं ।’ चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाका अध्यक्ष शिव पुनको अध्यक्षतामा पत्रकार तथा कलाकारको जमघटका अलाव फिल्मका भावी योजनाका बारेमा कुराकानी भएको थियो ।