बलिउडका रिलिज फिल्म धमाधम स्थगित
भारतमा एकाएक कोरोना संक्रमण बढेपछि सिनेमा हल बन्द हुन थालेका छन् । जसका कारण अब रिलिज हुने बलिउडका राम्रा सिनेमा प्रभावित भएका छन् ।
यसै क्रममा सलमान खानको फिल्म राधेको रिलिज निर्धारित समयमा हुन नसक्ने निर्माण पक्षले जनाएको छ । कोरोनाको अवस्था हेरेर मात्र निर्माण पक्षले फिल्म रिलिजबारे निर्णय लिने अभिनेता सलमान खानको भनाइ छ । संक्रमण बढेसँगै हलमा दर्शक जाने क्रम घटेकाले जोखिम मोलेर निर्माताले फिल्म रिलिज गर्नु नहुने पनि अभिनेता सलमानको सुझाव छ ।
यस्तै अभिनेता सैफ अली खानको फिल्म पनि निर्धारित समयमा रिलिज नहुने भएको छ । अली खानसँगै रानी मुखर्जीको मुख्य भूमिका रहेको फिल्म बंटी और बबली २ को रिलिज स्थगित गरिएको छ । यो फिल्ममा २३ अप्रिलमा रिलिज गर्ने भनिएको थियो । भारतमा पछिल्लो समय एकाएक कोरोनाको संक्रमण ह्वात्तै बढेपछि रिलिज रोक्नुपरेको फिल्म निर्माण कम्पनी यसराज फिल्मसले जनाएको छ ।
दक्षिण भारतीय स्टार राणा दग्गुबातीको मुख्य भूमिका रहेको फिल्म हाथी मेरे साथी फिल्म अब निर्धारित समयमा रिलिज नहुने भएको छ । कोरोना संक्रमणको कारण देखाउँदै यो फिल्म पनि प्रदर्शन स्थगित गरिएको छ ।
यस्तै, बलिउड अभिनेता अक्षय कुमारको फिल्म सूर्यवंशीको रिलिज पनि निर्धारित समयमा हुन नसक्ने सम्भावना बढेको निर्माण पक्षले जनाएको छ । अर्को महिना रिलिजको तयारी गरिए पनि अब अवस्था हेरेर मात्र निर्धारित समयमा रिलिज गर्ने कि नगर्ने भन्ने निष्कर्षमा आफूहरू पुग्ने पनि निर्माण पक्षले जनाएको छ ।
बलिउड अभिनेता आमिर खानको फिल्म लाल सिंह चड्ढा पनि तत्काल रिलिज नुहने भएको छ ।
यो फिल्मलाई चाँडै रिलिज गर्ने लक्ष्यसहित छायांकन तीव्र पारिएकोे थियो । यसैबीच अभिनेता आमिर खान कोरोना संक्रमित भएकाले फिल्मको छायांकन पनि रोकिएको छ । यसरी फिल्मको छायांकन प्रभावित भएपछि यो फिल्मको रिलिज पनि अनिश्चित भएको छ । फिल्मको छायांकन सम्पन्न गरेपछि कोरोना संक्रमण घटेको अवस्थामा मात्र फिल्म रिलिज गर्ने पनि निर्माण पक्षले जनाएको छ ।
प्रतिक्रिया