सुशान्तको ‘छिछोरे’ उत्कृष्ट फिल्म, अभिनेत्रीमा कंगना उत्कृष्ट
भारतमा सोमबार, ६७ औं राष्ट्रिय फिल्म पुरस्कारको घोषणा गरिएको छ ।
६७ औं ‘राष्ट्रिय फिल्म पुरस्कार’को घोषणामा सन् २०१९ मा बनेका फिल्म र ती फिल्ममा खेलेका कलाकारहरुलाई सम्मानित गरिएको हो । नयाँदिल्लीको नेसनल मिडिया सेन्टरबाट विजेताको घोषणा गरिएको हो ।
जसअनुसार दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको फिल्म ‘छिछोरे’ विधागत रुपमा ‘बेस्ट हिन्दी फिल्म’ बन्यो ।
नितेश तिवारी निर्देशित फिल्ममा सुशान्तका अलावा श्रद्धा कपुर, वरुण शर्मा, ताहिर राज भसीन प्रमुख भूमिकामा थिए ।
फिल्म ‘भोंसले’का लागि मनोज वाजपेयी र ‘असुरन’का लागि धनुष ‘बेस्ट एक्टर’ बने । मनोजले यसअघि ‘सत्या’का लागि ‘बेस्ट सपोर्टिङ एक्टर’ र ‘पिञ्जर’का लागि ‘स्पेशल जुरी अवार्ड’को पुरस्कार जितिसकेका छन् ।
अभिनेत्रीतर्फ फिल्म ‘मणिकर्णिका– द क्वीन अफ झाँसी’ र ‘पंगा’का लागि अभिनेत्री कंगना रनावतले ‘बेस्ट एक्ट्रेस’को अवार्ड पोल्टामा पारिन् ।
उनले यसअघि ‘फेसन’का लागि ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’ र ‘क्वीन’ तथा ‘तनु वेड्स मनु रिटर्नस’का लागि ‘बेस्ट एक्ट्रेस’ को अवार्ड जितिसकेकी छन् ।
उनीहरुबाहेक तमिल फिल्म ‘सुपर डीलक्स’का लागि विजय सेतुपतिले ‘बेस्ट सपोर्टिङ एक्टर’, ‘द ताशकंद फाइल्स’का लागि पल्लवी जोशीले ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’ पुरस्कार जिते ।
त्यस्तै ‘केसरी’को गीत ‘तेरी मिट्टी’को लागि बी प्राकले ‘बेस्ट मेल प्लेब्याक सिंगर’, मराठी फिल्म ‘बार्दो’का लागि सावनी रवीन्द्रले ‘बेस्ट फिमेल प्लेब्याक सिंगर’, सोहिनी चट्टोपाध्यायले ‘बेस्ट फिल्म क्रिटिक’ र मलयालम निर्देशक मुथुकुट्टी जेवियरले ‘हेलेन’का लागि इन्दिरा गान्धी अवार्ड फर बेस्ट डेब्यू फिल्म अफ अ डाइरेक्टर’को पुरस्कार जिते ।
उत्कृष्ट फिचर फिल्मतर्फ भने मलयाली फिल्म ‘मराक्कर लायन अफ द अरबियन सी’ ले पाएको छ ।
प्रतिक्रिया