सर्लाहीमा दर्जनौ कलाकर्मी सम्मानित : निखिललाई हेर्ने र सेल्फिी खिच्नेको घुँइचो

सर्लाहीको हजरियास्थित खेल मैदानमा शनिबार आयोजित ‘सर्लाही स्वर्णिम सम्मान २०७७’ कार्यक्रममा आ–आफ्नो क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै दर्जनौ कलाकार तथा पत्रकारलाई सम्मानित गरिएको छ । एक समयमा चर्चित अभिनेता निखिल उप्रेती देखि लिएर पछिल्लो समयकी लोकप्रिय डान्सर कविता नेपाली समेत रहेकी छन् । उक्त कार्यक्रममा फिल्म ‘जात्रा’ निर्देशक प्रदीप भट्टराई, कवि एवम् गीतकार दिनेश अधिकारी एकसाथ सम्मानित भएका हुन् ।

कलाकार र पत्रकारसहित १७ जना सम्मानित भएका छन् । कार्यक्रममा गायक शिव परियार, हाँस्यकलाकार शिवशंकर रिजाल (जोगेन्दर),महिला निर्देशक सम्झना उप्रेती रौनियार, सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराई, रंग पत्रकार प्रदीप कार्की, गायक यशकुमार, निर्देशक पुर्णेन्द्र झा, संगीतकार टिका बम्जन, पत्रकार दिवाकर मैनाली, गायक कमल खत्री, कलाकार विजय बराल, मोडल कविता नेपाली रहेका छन् ।
नगरपालिका प्रमुख देवानन्द महतोले कलाकारिता एवं पत्रकारिता क्षेत्रबाट जिल्ला चिनाउनेलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताए ।
उक्त कार्यक्रममा अभिनेता निखिल उप्रेतीलाई हेर्नेको भिड लागेको थियो । उनीसँग सेल्फि खिच्नका लागि सयौ दर्शक तछाँड मछाँड गरेको देखिन्थ्यो । सम्मानित हुनु भन्दा अगाडी सबैलाई बयलगाडामा सवार गरिएको थियो ।