मुकुन र मेनुकाको ‘गणपति’ प्याकअप

फिल्म ‘गणपति’ को सुटिङ प्याकअप भएको छ । गत माघ ८ गतेबाछा यांकन थालिएको फिल्मको छायांकन पूरा भएको हो । अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानले पहिलो पटक सँगै काम गरेको फिल्म ‘गणपति’ को पोस्ट प्रोडक्सनको काम भइरहेको छ । फिल्मलाई सविन अधिकारीले निर्देशन गरेका छन् ।

यस फिल्मको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुबास आसपासमा भएको हो । लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेको फिल्मले भगवान र मानिसबीचको फरक देखाउनेछ । फिल्ममा मुकुन र मेनुकासँगै सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय छ । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारीले नै गरेका छन् ।

फिल्ममा हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी रहेको छ भने फिल्मको गीतमा अनिस अधिकारीले शब्द तथा संगीत छ । फिल्मका गीतमा अनिस अधिकारी र देवेन्द्र बब्लुले आफ्नो आवाज भरेका छन् । फिल्म नेपालभन्दा पहिला यूके र अष्ट्रेलियामा रिलिज गर्ने निर्माण पक्षले जनाएको छ । फिल्मलाई २०२१ भित्र प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको रहेको छ ।