छोराछोरीको खुशीको लागि भन्दै आलियाले फिर्ता लिइन् डिभोर्सको मुद्दा

बलिउड कलाकार नवाजुद्दिन सिद्दिकी पत्नी आलियाले डिभोर्सका लागि अदालतमा फाइल दर्ता गराएपछि उनी तनावमा परेका थिए । श्रीमती आलियाले नवाजुद्दिनका बिषयमा थुप्रै आरोप लगाउदै डिभोर्सका लागि मुद्धा दर्ता गरेकी थिइन् । उनले लामो समय पछि डिभोर्सको मुद्दा फिर्ता लिएकी छिन् । भारतीय समाचारका अनुसार आलियाले आफ्ना सन्तानको खुशीका लागि डिभोर्सको मुद्दा फिर्ता लिएकी छन् ।

उनले भनेकी छन् ,‘मेरो र नवाजुद्दिनको सम्बन्धमा थुप्रै उतारचढाव आएको छ । सम्बन्ध टुट्नु भन्दा अगाडि हामीले फेरि एकपटक यो सम्बन्धलाई नयाँ मौका दिने बिषयमा सोच्यौं । मेरो लागि यो फैसला सजिलो थिएन । एकपटक सम्बन्ध विग्रिएपछि यसलाई फेरि सहज बनाउन मुश्किल छ । तर, मेरा बच्चाको खुशीका लागि म जे पनि गर्न तयार छु ।’

समाचारमा आलियाले भने अनुसार एक वर्षदेखि उनले श्रीमान नवाजुद्दिनलाई भेटेकी छैन । तर, बच्चाको बिषयमा हाम्रो फोनमा कुराकानी भैरहेको हुन्थ्यो । कोभिडका बेला नवाजुद्दिनलाई निकै मिस गरिरहेको समाचारमा उल्लेख गरिएको छ । उनले भनेकी छन्,‘मलाई कोभिड पोजिटिभ आउँदा उनले मेरो बिषयमा खुबै ध्यान दिएका थिए । बच्चाका लागि उनले हरेक जिम्मवारी निर्वाह गरेका छन् । नवाजुद्दिनले पछिल्लो एक बर्ष बच्चाका लागि जति समय बिताएका छन्, त्यती समय उनले त्यसअघि दिएका थिएनन् ।’

आलियाले डिभोर्स फिर्ता लिनुको कारण समेत खुलाएकी छन् । अहिले नवानजुद्दिनले श्रीमानको कर्तव्य पुरा गरेको बताएकी छन् । उनले भनेकी छन् ,‘पिताको मात्र होइन, नवाजुद्दिनले एक श्रीमान्को कर्तव्य पनि निर्वाह गरेका छन् । यसैले मैले डिभोर्सको मुद्दा फिर्ता लिएकी छु ।’
केहि वर्ष देखि आलिया र नवानजुद्दिनबीच खटपट चल्दै आइरहेको थियो । उनीहरुको मिलन हुने कुराले नवानजुद्दिनका समर्थकहरु खुसी देखिएका छन् ।