हलिउड फिल्म ‘‘एक्वामेन २’’बाट आउट भईन् एम्बर हर्ड

हलिउड अभिनेत्री एम्बर हर्ड र अभिनेता जोनी डिपको कानूनी लडाइँले उनीहरुको करियरमा कति धेरै असर परेको छ भन्ने कुरा पछिल्लो घटनाक्रम हेर्दा प्रष्ट हुन्छ ।

अभिनेता जोनीलाई ‘श्रीमतिलाई कुटेको’ आरोप लागेपछि अनुबन्धित केही प्रोजेक्टबाट उनी निकालिए । अहिले भने अभिनेत्री एम्बर पनि फिल्म ‘एक्वामेन २’बाट निकालिएकी छन् ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार फिल्म ‘एक्वामैन’मा ‘मिरा’को चरित्र निर्वाह गरेकी एम्बरलाई हटाएर उनको स्थानमा ‘गेम अफ थ्रोन्स’ अभिनेत्री इमिलिया क्लार्कलाई भित्र्याइएको छ । निर्माण कम्पनी पपकन्र्ड प्लानेटले एमालाई भित्र्याएको बारे पुष्टि गरेको छैन ।

फिल्मका लागि एम्बरले शरीरको तौल घटाउनुपर्नेमा बढाइदिएपछि फिल्मका निर्माता रिसाएका थिए । ‘एम्बर शारीरिक अडिसनमा असफल भइन् । शरीरको तौलको मात्रा बढेपछि निर्माण पक्ष असन्तुष्ट देखिए । उनीसँगको सम्झौतामा शरीरलाई सही फर्ममा ल्याउनुपर्ने शर्त थियो । तर त्यो शर्त पालना भएन’, फिल्म निकट स्रोतले भनेको छ ।

फिल्मका लागि एम्बरले एक्सन र स्टन्ट दृश्य दिनुपर्ने थियो । तर उनको बढेको तौलले त्यो पुरा हुन सकेन । फिल्म निर्माण कम्पनी पपकन्ड प्लानेटले एम्बरलाई फिल्मबाट हटाएको पुष्टि गरेको छ ।

सन् २०१८ मा रिलिज फिल्म ‘एक्वामेन’ विश्वव्यापी हिट भएको थियो । फिल्मको निर्देशक जेम्स वान हुन् । सन् २०२२ को डिसेम्बर १६ मा रिलिजको योजना बनाइएको फिल्म ‘एक्वामेन २’ मा जेसोन मोमोआ र याह्या अब्दुल मातिन एक्वामेन र ब्ल्याक मान्ताको भूमिका निभाउदैछन् ।

फिल्मका लागि शीर्ष भूमिकामा को रहने भन्ने बारे निर्माण कम्पनी वार्नर बोसले केही भनेको छैन । कानूनी झमेलामा परेपछि अभिनेता जोनीले आफू ‘फेनटास्कि बिस्ट’ फ्रेञ्चाइजीबाट निकालिएको खुलाएका थिए ।