चलिसकेको कलाकारले अडिसन दिनुहुदैन भन्ने भ्रम छ – अनुप बराल

नेपालमा स्टार भएका कलाकारले अडिसन दिनुहुदैन भन्ने भ्रम रहेको कलाकार तथा निर्देशक अनुप बरालले बताएका छन् । उनले फिल्म प्रकाशको घोषणा कार्यक्रममा स्टार भइसकेको कलाकारले अडिसन दिनुहुदैन भन्ने भ्रम रहेको बताए।

उनले बलिउडका अभिनेता आमिर खानको मुख्य भूमिकामा निर्माण भएको फिल्म ‘लाल सिंह चड्डा’का लागि अभिनेत्री करिना कपुरले अडिसन दिएको चर्चा गरे । उनले भने, ‘बलिउडका स्टार अभिनेता तथा अभिनेत्रीले अडिसन दिएर नै फिल्ममा अभिनय गरिरहेका हुन्छन् । नेपालमा भने स्टार भएपछि अडिसन दिनु पर्दैन भन्ने सोच रहेको छ।

अनुपले भने–‘नेपालमा चलेका कलाकारहरुलाई अडिसनमा सहभागी हुनु हुँदैन भन्ने भ्रम छ । अडिसनमा सहभागी हुनु भनेको कुनै पनि कलाकारको अभिनयको क्षमता नाप्ने भन्ने होइन । जुन कथाका लागि कलाकार अडिसनमा सहभागी भएका छन्, सो कथाका लागि फिट छन् या छैनन् भनेर मापन मात्र गरिने हो ।’
फिल्म प्रकाशका लागि अभिनेता प्रदीप खड्कालाई उनले ३ महिना उनले अभिनय सिकाएका थिए भने अभिनेत्री दिया मास्के, रेनु योगी लगायत कलाकारलाई अडिसनबाटै छनोट गरिएको अनुपले बताए। पश्चिमबाट आएका कलाकार फिल्म प्रकाशमा छनोट भएको निर्माणपक्षले जानकारी दिएको छ।