मन्त्री गुरुङद्धारा गायक नवीनको ‘नवीन’ गीति एल्वम सार्वजनिक

गायक नवीन कार्कीद्धारा स्वरबद्ध गीति एल्बम ‘नवीन’ सार्वजनिक गरिएको छ। नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङ लगायतले उक्त गिती एल्वम सार्वजनिक गरेका हुन् ।

गीती एल्वम सार्वजनिक गर्दै राष्ट्रिय आकांक्षाको लक्ष्यमा पुग्न सरकार सकृय रहेको र यो अभियानमा सबै नेपाली एकजुट हुनुपर्ने बताए। मन्त्री गुरुङ्गले गायक कार्कीसँग आफ्नो पुरानो चिनारी रहेको बताउँदै उहाँको गायन कलामा उर्जा देखिएको बताए । गायन यात्राको निरन्तरता दिन समेत आग्रह गरेका छन्।

गीतकार संघका पुर्व अध्यक्ष चुडामणी देबकोटाले गायक कार्की अमरताको यात्रामा लागेको बताए । उनले स्रष्टा कहिल्यै भुतपुर्व नहुने र सधैँ ताजा रहिरहने बताए। कार्यक्रममा लोकप्रिय संगीतकार तथा गायक राजराज शिवाकोटी, गीतकार देबेन्द्र केसी देबु, बिज्ञापन बोर्डका सदस्य बलराम थापा, राष्ट्रिय ज्येष्ठ नागरिक कोषका अध्यक्ष बसन्तराज कार्की, अग्रज पत्रकार बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष समेत रहनु भएका गीतकार पुष्करराज बुढाथोकी,संचारकर्मी अमरध्वज लामा, मनुका कुँवर , एल्बमका प्रस्तोता तथा गायक कार्कीका धर्मपत्नी तारा कार्की लगायतले गायक कार्कीको गायन यात्राको सफलताको कामना गरे। गायक कार्कीले गायन यात्राको बारेमा चर्चा गर्दै प्रेरणा, सहयोग र उर्जा प्रदान गर्ने सबैप्रति आभार प्रकट गरे ।

यसै कार्यक्रममा नेपाली संगीतका शक्ति बरिष्ठ संगितकार शक्ति बल्लभलाई बिशेष सम्मान गरिएको थियो । कार्यक्रममा आदिबासी जनजाती पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ्ग, संचार बिज्ञ राजेन्द्र मानन्धर, कान्तिपुर एफ एमका समाचार प्रमुख पवन आचार्य, राष्ट्रिय संचार केन्द्रका अध्यक्ष पेशल आचार्य, पत्रकार टेकराज थामी लगायतको सहभागिता रहेको थियो ।

गीती एल्बममा बरिष्ठ संगीतकार शक्ति बल्लभ, गुरुदेब कामत र राजनराज शिवाकाटीको कर्णप्रिय संगीत र सिद्धहस्त गीतकार रत्नशम्शेर थापा, ज्ञानुवाकर पौडेल, डा.राजुबाबु श्रेष्ठ, देबेन्द्र केसी देबु, रमेश दाहाल र पुष्करराज बुढाथोकीका शब्द रचना समेटिएका छन् ।