अमर गिरी भन्छन्,‘हल खोल्ने कुरा डिर्पाटमेन्टल स्टोर खोले जस्तो होइन’

लकडाउन खुलेको लामो समय भइसक्दा पनि फिल्म क्षेत्र चलायमान हुन सकेको छैन। फिल्म क्षेत्र चलायमान नहुँदा हलवाला तथा निर्माताहरु घाटा व्यहोरेर बस्न बाध्य भएका छन्।

फिल्म पत्रकार संघ दाङ शाखाले घोराहीले यस विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। उनीहरुले ‘चलचित्र बहस’ विषयक अन्तरक्रिया कार्यक्रममा फिल्मकर्मीले कोरोना कहर कायम रहेकोले दर्शक हलसम्म पुग्ने वातावरण अझै बनि नसकेको सुझाव दिएका छन्।

अन्तरक्रिया कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष डा.अमर गिरीले हल संचालन गर्ने कुरा डिर्पाटमेन्टल स्टोर खोलेजस्तो नभएको बताएका छन्। उनले हलमा दर्शक तान्नका लागि सुरक्षाको प्रत्याभुति गराउनुपर्ने बताएका छन्। ‘दर्शकलाई कोरोनाको डर कायमै रहेको हुँदा हलमा दर्शकले सुरक्षाको अनुभूति दिलाउनका लागि हल संचालकले ध्यान दिनुपर्ने देखिन्छ’ गिरीले भने ‘हल सुरक्षित हुने ब्यवस्था विकास बोर्डले पहल गर्नुपर्छ ।’

फिल्म हल खोलेको एक साता भइसक्दा पनि नयाँ फिल्म नपाएका हलवालाहरुले भने आफुहरुले श्रमिकलाई तलव दिन नसक्ने अवस्था आएकोले फिल्म चलाउन पाउनुपर्ने माग राखेका छन्। हल संचालक ललित श्रेष्ठले कोरोना महामारीका कारण हल लामो समय बन्द रहदा श्रमिकलाई पारिश्रमिक दिन समस्यामा आफुहरु परेको बताए । हलमा सुरक्षा अपनाउदै अहिले हल संचालनका लागि आफु तयार भएको उनले बताए। तर, अहिले हलमा प्रदर्शनकाका लागि राम्रा फिल्म पाउन नसकेको गुनासो पोखे। फिल्म हल सञ्चालन गरेको एक साता भएता पनि नयाँ फिल्म चलाउन नपाउँदा दर्शक हलमा नआएको जानकारी गराए।

फिल्म निर्माता तथा निर्देशक मुनाल घिमिरेले कोरोना महामारी बन्द भएका हल संचालनमा चलचित्र विकास बोर्डको भूमिका कमजोर देखिएको आरोप लगाएका छन् । उनले कोरोनाकै बिचमा फिल्म निर्माताहरु प्रदर्शनका लागि फिल्म दिन तयार रहेको बताउँदै राज्यले हल संचालनका लागि उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाए । कोरोना महामारीको संक्रमण कायमै रहेकाले अहिले प्रदर्शनमा आउने फिल्मलाई राज्यले अनुदानको ब्यवस्था गर्नु पर्ने उनको जोड थियो।

कार्यक्रममा चलचित्र निर्माता संघका सदस्य तथा निर्माता रोहित अधिकारीले कोरोना कहरकै बिचमा फिल्म रिलिज गर्न निर्माताहरु डराइरहेको बताए । कारोनाका कारण दर्शक नपाउने अवस्था नरहेको भन्दै दर्शकलाई हलसम्म ल्याउने आकर्षक प्याकेज सहितको वातावरण निर्माण गर्नुपर्ने धारणा राखे ।

कायक्रममा चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष शिब पुन, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, पत्रकार संघ दाङ शाखाका निवर्तमान अध्यक्ष धुव्रराज न्यौपाने र सचिव पूर्ण केसी, सल्लाहकार शरद रेग्मी, डा.लोकराज पराजुली , हाँस्य कलाकार कमल गाउँले लगायतको उपस्थिती रहेकोको थियो।