विन्ध्यवासिनी म्यूजिक कम्पनी र प्रमोद खरेलबीच विवाद उग्र
विन्ध्यवासिनी म्यूजिक कम्पनी र गायक प्रमोद खरेलको प्रतिलिपि अधिकारको मुद्धामा प्रस्तोता समाज उभिएको छ। विन्ध्यवासिनी म्यूजिक कम्पनीले प्रमोद खरेलले आफुले उत्पादन गरेको गीत युटुव च्यानलमा हालेको विषयमा विवाद उत्पन्न गरेको थियो । उनीहरुको विवादले उग्र रुप लिएपछि गायक खरेल र विन्ध्यवासिनी म्युजिकबीच भएको विवादमा प्रस्तोता समाज गायक खरेलको पक्षमा उभिएको हो।
लकडाउनको समयमा विन्ध्यवासिनी म्युजिकले प्रमोद खरेलले विना अनुमति आफूले तयार पारेको गीत–संगीत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्टेजमा प्रयोग गरिरहेको आरोप लगाउँदै आएको छ। यसै आरोपलाई विन्दधासिनी म्युजिक कम्पनीले रजिष्टारको कार्यालयमा उजुरी दिएको थियो । सोही विषयमा प्रस्तोता समाजले आफ्नो धारणा सार्वजनिक गरेको छ। यि दुइको विवादमा एक विज्ञप्ती जारी गर्दै प्रस्तोता समाज प्रमोदको पक्ष लिएको हो।
हालै बसेको प्रस्तोता समाजको कार्यसमिति बैठकले गायक खरेल र विन्ध्यवासिनी म्यूजिक बीच भएको करार सम्झौता पत्र अनुसार प्रतिलिपि अधिकार दोस्रो पक्ष अथवा गायकमा रहेको निर्णय गरेको छ । विन्ध्यबासिनी म्युजिकसँग चार लाख १० हजार रुपैयाँ ८ वटा गीत निर्माणका क्रममा लिए पनि प्रतिलिपि अधिकार दोस्रो पक्ष (प्रस्तोता) गायक प्रमोद खरेलसँग रहेको सम्झौतापत्रको प्रकरण नं ४, ५, ६ र ७ नम्बर बुँदामा रहेको प्रस्तोता समाजका अध्यक्ष शिव हमालले उल्लेख गरेका छन् ।
उक्त चार लाख १० हजार रुपैयाँ विन्ध्यवासिनी म्युजिकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न माध्यममा विक्री गरि दोस्रो पक्ष (प्रमोद) ले प्राप्त गर्ने रकमबाट कट्टा गर्ने सम्झौतापत्रमा उल्लेख भएकाले प्रतिलिपि अधिकार पनि गायक स्वयंसँग रहेको समाजले स्पष्ट पारेको छ ।
विन्दवासिनी र गायक खरेलबीचको सम्झौता पत्रमा आम्दानीको सम्बन्धमा आम्दानी रकम प्राप्त भएको एक महिनाभित्र फरफारक हुनुपर्ने उल्लेख गरिएको छ। तर विन्दबासिनीले हालसम्म पनि त्यसो नगरेको हुँदा गायक खरेलको अधिकार हनन् भएको प्रस्तोता समाजको भनाई छ ।
२०६६ साल चैत २७ गतेदेखि व्यापार तथा वजार प्रवद्र्धनका लागि ५ वर्षको समय मात्रै विन्ध्यवासिनी म्युजिकसँग रहे पनि अहिलेसम्म सम्झौता पुनः नवीकरण नगरी व्यापार व्यावसाय गरिरहेको भन्दै प्रस्तोताको प्रतिलिपि अधिकारसँगै आर्थिक अधिकारसमेत हनन् भएको प्रस्तोता समाजको ठहर छ।
प्रस्तोता समाजको बैठकले प्रमोद खरेल अन्यायमा परेको भन्दै अन्तर्राष्ट्रिय कानुन, नेपालको संविधान २०७२, प्रतिलिपि अधिकार २०५९ र नियमावली २०६१ बमोजिम कानुनी उपचार खोज्न भनिएको छ। उनीहरुबीचको झगडाले लकडाउनको समयमा उग्ररुप लिएको थियो। विन्दवासिनीका सुभास रेग्मीले पटक पटक आफ्नो सिर्जना र लगानीमा निर्माण भएको गीत प्रमोदले स्टेजमा गाएको भन्दै आपत्ति जनाउदै आएका थिए। स्टेजमा गाए वापत रोयल्टी पाउनुपर्ने उनको माग छ।
प्रतिक्रिया