भोलिबाट फिल्म हल खुल्ने, ४ फिल्म प्रदर्शनमा

भोली शुक्रबारबाट चलचित्र संघले हल खोल्ने घोषणा गरेको थियो । चलचित्र व्यवसायीहरूले भोलि अर्थात पुस १० गतेबाट सिनेमा हल खोल्दैछन्। गत चैतदेखि बन्द रहेको हल खोल्न सरकारले चासो नदेखाएपछि व्यवसायीले स्व:घोषणा गर्दै हल खोल्न लागेका हुन्। भोली शुक्रबारदेखि ४ वटा फिल्म रिलिज गर्ने तयारी हल संचालकहरुले गरेका छन् ।

हलमा नयाँ फिल्म नभई यसअघि प्रदर्शनमा नै आएको फिल्म रिलिन हुनेछन्। चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले शुक्रबारबाट हलमा ‘आमा’ र ‘सेन्टी भाइरस’ चलाइने जानकारी दिए। चलचित्र संघको निर्णयपछि देशभरका मल्टिप्लेक्सले रिलिज हुने फिल्मलाई अनलाइन बुकिङमा राखेका छन् ।

क्यूएफएक्स चेनले २ नेपाली र २ अंग्रेजी चफिल्म रिलिज गर्ने तयारी गरेको छ । जसअनुसार, नेपाली फिल्म ‘आमा र सेन्टी भाइरस’ रिलिज हुँदैछन् । यी दुबै फिल्म गतबर्षको फागुण ९ गतेबाट रिलिज भएका थिए । तर, कोरोना महामारीका कारण यी दुवै फिल्महरु रिलिज हुँदाहुँदै कोरोना भाइरसको महामारीका कारण लकडाउनमा रोकिएका थिए ।

यी दुवै फिल्मका लागि हलहरूले टिकट बुकिङ पनि खोलिसकेका छन्।

स्वास्थ्य सुरक्षा सावधानी अपनाएर मात्र हल खोलिने अध्यक्ष प्रधानको भनाई छ। देशभरका हल व्यवसायीहरू शुक्रबारबाट हल खोल्न उत्साहित भएको उनी बताउँछन्।

९ महिनादेखि बन्द रहेका हलहरुको व्यवस्थापन तथा सरसफाइको काम सकिएको र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दर्शकहरूलाई स्वागत गर्न तयार रहेको उनले बताए।

यस्तै, अंग्रेजी फिल्म ‘ब्लडसट र दि इनभिजिबल म्यान’ रिलिज गर्ने तयारी मल्टिप्लेक्स हलहरुले गरेका छन् । तर, यी फिल्म कुन–कुन शोमा रिलिज हुन्छन् भन्ने उल्लेख गरिएको छ ।

दीपेन्द्र के. खनालको निर्देशनमा रहेको फिल्म ‘आमा’ का र रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘सेन्टी भाइरस’ लाई यसअघि दर्शकले रूचाएका थिए।

बन्द भएको ९ महिनापछि देशभरका हल भोली शुक्रबारदेखि सुचारु हुन लागेका हुन् । हल संचालन गर्दा सरकारले बल प्रयोग गरेको खण्डमा आफूहरु गिरफ्तारी दिन तयार रहेको हल संचालकहरुले बताएका छन् ।

सिनेमाको छायांकन भने सुचारु गर्न सकारात्मक भएको सरकारले हल भने केही दिन अझै पर्खेर मात्र खोल्न आग्रह गर्दै आएको छ। तर, व्यवसायीहरू आफैं हल खोल्न अग्रसर भएका हुन्।  तत्काल नै हल खोल्दा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सरकारले तत्काल हल सञ्चालनको अनुमति दिन मानेको छैन।