नेपाल – अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवको चौथो संस्करण गरिने

कोविड –१९ को कारणले सन् २०२० को संस्करण स्थगित गरिएको नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवको चौथो संस्करण हुने भएको छ। आगामी २०२१ जुन १८ देखि २० सम्म अमेरिकाको वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने भएको हो। यो संस्करणका लागि विश्वभरिबाट आवेदन खुला समेत गरिएको आयोजकले जनाएको छ ।

उक्त महोत्सवसमा नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा फिल्म, एनिमेशनका साथै सबै विधाका फिल्महरु प्रदर्शन गरिने छन् । आजोजकका अनुसार नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र फिल्महरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् ।

अमेरिकाको वासिङ्गटन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय फिल्मकर्मीहरुलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ प्रदर्शनी हँुदै आएको छ । २०२१ मा पनि ‘डीएमभी क्लोजअप’ झन् बृहत गरिनेछ। स्थापनादेखि नै ग्लोबल पिस फिल्म फेस्टिवल फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएको चलचित्रहरु आगामी वर्ष पनि समावेश हुनेछ ।

आयोजकले महोत्सवमा फिल्म प्रदर्शन भएपछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया गर्ने पनि जनाएको छ। अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ ।