(निफ) को चौथो संस्करण यस वर्षका लागि स्थगित

नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करण यस वर्षका लागि स्थगित भएको छ । आगामी फागुन १२ देखि १६ गतेसम्म काठमाडौंमा गर्ने भनिएको फेस्टिभल बैशाखमा हुने भएको छ। फेस्टिभलमा २०७८ साल बैशाख २३ देखि २७ गतेसम्म काठमाडौंमा गरिने आयोजकले जानकारी दिएको छ। कोरोना महामारीका कारण निर्धारित मितिमा हुन नसकेको आयोजक संस्था नेपाल फिल्म एन्ड कल्चर एकडेमीले आइतवार एक विज्ञप्तीमार्फत जानकारी दिएको हो।

फेस्टिभलमा विश्वभरका फिल्म मेकर सहभागिता रहने गरि आवेदन खुल्ला गरेको आयोजनकले बताएको छ। आवेदनमा ५२ देशका ४ सय बढी फिल्मले सहभागिता जनाएको आयोजकका संस्थाका अध्यक्ष केपी पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ,‘महामारीका कारण फिल्ममेकर चाहेर पनि फेस्टिभलमा सहभागी हुन सक्ने अवस्था छैन । भर्चुअल रुपमा गर्ने विकल्प हामीलाई खास प्रभावकारी लागेको छैन,’ पाठकले भने, ‘केही समय कुर्दा पुरानै स्वरुपमा फेस्टिभल गर्न सकिन्छ भन्ने अपेक्षासहित केही महिना सारेर फेस्टिभल गर्न लागेका हौं।’

कोरोना महामारीबा कारण फेस्टिभलमा केहि विधा थपिएको आयोजनकले जानकारी दिएको छ। थपिथएको विधामा ‘बेस्ट पान्डेमिक फिल्म’ नाम दिइएको छ। यो विधाका विजेता फिल्मले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने अध्यक्ष पाठकले बताए ।

अवार्डमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ । ‘निफ’ को नारा ‘विश्वका कथाहरुको कथ्य उत्सव’ रहेको छ। फिल्म फेस्टिभल बर्षेनी हुँदै आएको थियो तर यो साल कोरोना महामारीका कारण सरेर अर्को साल पुगेको हो।