चलचित्र विकास बोर्डले ल्यायो ‘चलचित्र प्रोजेक्ट बीमा’

नौ महिना देखि बन्द रहेको फिल्म क्षेत्रलाई चलायमान बनाउन चलचित्र विकास बोर्डले ‘चलचित्र बीमा सञ्चालन कार्यविधि’ सञ्चालनमा ल्याएको छ। सरकारले छायांकनका लागि अनुमति खुल्ला गरकै दिनबाट अर्को वर्षको असार मसान्तसम्म फिल्म निर्माणको इजाजत लिने फिल्मका लागि बोर्डले चलचित्र बीमा सञ्चालनमा ल्याएको हो। हिजो चलचित्र निर्माता संघले एक विज्ञप्तिमार्फत् ‘चलचित्र बीमा सञ्चालनन कार्यविधि’ जानकारी गराएको हो।

आज संघको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमणको अप्ठ्यारो परिस्थितिमा केही हदसम्म चलचित्र निर्मातालाई राहत तथा प्रोत्साहन गर्नको लागि नेपाल चलचित्र निर्माता संघको विशेष पहलमा चलचित्र बिकास वोर्डले चलचित्र प्रोजेक्ट बीमालाई, नेपाल सरकारले छायांकन फुकुवा गरेको मितिबाट २०७८ असार मसान्तसम्मका लागि चलचित्र निर्माण इजाजत लिइने सिनेमाहरुको हकमा ‘चलचित्र प्रोजेक्ट बीमा कार्यविधि २०७७’ सञ्चालनमा ल्याएको छ ।

२०७८ असार मसान्तभित्र फिल्म निर्माणको इजाजत लिने फिल्मलाई ‘प्रोजेक्ट बीमा कार्यविधि’ ले निर्देशन गरे बमोजिम १ लाख ५० हजार बीमा शुल्क उपलब्ध हुनेछ। यसका लागि निर्माताहरुले चलचित्र निर्मातासंघमा सम्पर्क राख्न पनि आह्वान गरिएको छ।
त्यस्तै ,कोरोनाको असरबाट प्रत्यक्ष मारमा परेका फिल्मलाई चलचित्र विकास बोर्डले राहत प्याकेजको घोषणा गर्न लागेको पनि संघको विज्ञप्तिमा भनिएको छ।