मैत्रीपूर्ण ‘स्टार क्रिकेट’ म्याचमा यी स्टारहरु मैदानमा भिड्दै
गृष्मा ब्रोडकास्टिङको आयोजनामा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रगंशाला निर्माणार्थ मैत्रीपुर्ण क्रिकेट म्याच आउदो माघ २४ गते राष्ट्रिय खेलाडीहरु र राष्ट्रिय कलाकारहरुको साथमा हुन लागेको छ ।
निर्माण भइरहेको रङ्गशालालाई सहयोग गर्ने उदेश्यले मैत्रीपूर्ण खेलको आयोजना गर्न लागिएको हो । यस खेलले रङ्गशाला निर्माणमा केही सहयोग पुग्नेमा विश्वस्त छन् । समग्रमा क्रिकेटर, अभिनेता, अभिनेत्री, कमेडियन, फुटबलर, तेक्वान्दो खेलाडी, गायिका, संचारकर्मीबीच यो प्रतियोगिता हुनेछ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि मैत्रिपूर्ण क्रिकेट प्रतियोगितामा तीन टिम रहनेछन् । यस खेलको उत्सुकता मेट्न माघ २४ गतेसम्मको मिति कुर्नुपर्नेछ । चितवनको भरतपुर महानगरपालिकास्थित निर्माणधिन रंगशाला यो रोचक भिडन्त साक्षतकार गर्न पाइनेछ । यसको मेलोमेसो मिलाएको छ गृष्मा एड्भरटाइजिङले ।
गायक प्रकास सपूत, तेक्वान्दो खेलाडी संगीना बैद्य, अभिनेत्री सुरक्षा पन्त, स्ट्यान्ड अप कमेडियन सन्दिप क्षेत्री जब क्रिकेट मैदानमा उत्रनेछन्, उनीहरुबीचको घम्साघम्सी कस्तो हुन्छ होला र? फरक क्षेत्रमा परिचित यी अनुहारहरुले क्रिकेटमा आफ्नो क्षमता कसरी देखाउँलान् ?
‘स्टार क्रिकेट–२०२१’ शीर्षकको यो प्रतियोगिता यसकारण पनि घतलाग्दो हुनेछ कि, जहाँ क्रिकेटभन्दा बाह्र हात परका सेलिब्रेटीहरु आपसमा भिड्नेछन् । यसमा, अभिनेत्री बेनिसा हमाल, गायक प्रमोद खरेल, तेक्वान्दो खेलाडी दीपक विष्ट । गायिका स्मिता दाहाल, फुटबलर हरि खड्का, अनिल गुरुङ, संचारकर्मी नरेश भट्टराई, तेक्वान्दो खेलाडी संगीना बैद्य, हास्य कलाकार कुमार कट्टेल, बडी बिल्डर महेश्वर महर्जन, अभिनेता अनुपबिक्रम शाही पनि यसमा सम्मिलित छन् ।
यता राष्ट्रिय खेलाडीहरुमा क्रिकेटर पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद दासले सेलिब्रेटी टिमको कप्तानी सम्हाल्नेछन् । उनीहरुसँगै सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, करण केसी जस्ता क्रिकेटर पनि मैदानमा उत्रनेछन् ।
रंगशाला निर्माण गरिरहेका धुमुर्स सुन्तली फाउन्डेसनका सीताराम कट्टेल र कुन्जना घिमिरे पनि यस मैत्रीपुर्ण खेलमा छुटिने छैनन् ।
आयोजक गृष्मा ब्रोडकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरे भन्छन्, ‘यो नितान्त फरक र रोचक हुनेछ ।’ खासगरी निर्माणधीन रंगशालालाई सहयोग गर्ने उदेश्यले यस्तो प्रतियोगिता गर्न लागिएको उनको भनाई छ ।
उक्त खेल मार्फत जुटेको रकम त्यहिँ धुर्मुस-सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरिनेछ । साथै , त्यहाँ खेलमा प्रयोग भएका बल, ब्याट, जर्सी लगायतका खेल सामग्रीमा सेलिब्रेटीहरुको साइन लिएर बिक्रीका लागि फाउन्डेसन्लाई प्रदान गरिनेछ ।
प्रतिक्रिया