मैत्रीपूर्ण ‘स्टार क्रिकेट’ माघ २४ मा हुने

‘स्टार क्रिकेट २०२१’ मैत्रीपूर्ण खेल हुने भएको छ ।

गृष्मा ब्रोडकास्टिङको आयोजनामा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रगंशाला निर्माणार्थ मैत्रीपुर्ण क्रिकेट म्याच आउदो माघ २४ गते राष्ट्रिय खेलाडीहरु र राष्ट्रिय कलाकारहरुको साथमा हुन लागेको हो ।

सार्वजनिक गरिएको पोस्टरमा चितवनको भरतपुर महानगरपालिका अन्तर्गतको वडा नम्बर १५ मा गौतमबुद्ध अन्तर्राट्रिय क्रिकेट रङ्गशाला निर्माण गरिरहेका धुर्मुस–सुन्तली फाउण्डेशनका सिताराम कट्टेल र कुन्जना घिमिरेसँगै क्रिकेटर पारस खड्का,गायक रामकृष्ण ढकाल, प्रमोद खरेल अभिनेत्री सुरक्षा पन्त, बेनिशा हमाल, पूर्व मिस नेपाल शृंखला खतिवडा लगायत छन् ।

निर्माण भइरहेको रङ्गशालालाई सहयोग गर्ने उदेश्यले मैत्रीपूर्ण खेलको आयोजना गर्न लागिएको गृष्माका गृहेन्द्रले बताए । ‘मैले रङ्गशालामा मेरो दायित्व र कर्तव्य पनि पुरा गरेको हुँ ,’ उनले भने ‘रङ्गशाला निर्माणमा विदेशमा रहेका नेपालीहरु जुटिरहनु भएको छ भने हामी स्वदेश पनि किन केहि नगर्ने ?’ उनि यो खेलले रङ्गशाला निर्माणमा केहि सहयोग पुग्नेमा विश्वस्त छन् ।

माघ २४ गते आयोजना हुने खेलमा ३ टिम रहनेछन् । क्रिकेटर पारस खड्का , ज्ञानेन्द्र मल्ल र विनोद दासले १\१ टिमको कप्तानी गर्नेछन् । उनीहरुको टिममा क्रिकेट खेलाडीसँगै फुटवल खेलाडी, भलिवल खेलाडीसँगै कलाकार र सञ्चारकर्मी रहनेछन् । ‘हामीले हरेक क्षेत्रलाई प्रतिनिधित्व हुने गरि सेलिब्रेटीलाई अगाडी ल्याउदैछौँ । र, त्यो उहाँहरुको रङ्गशाला निर्माणमा सहभागिता भनौ वा सहयोग पनि हो’ घिमिरेले भने ।

मैत्रीपूर्ण खेलमा दर्शकको सहभागिता भने नरहने उनले बताए । ‘अहिलेको अवस्थामा हामीले दर्शकका लागि खुल्ला गरेका छैनौ । तर, हेरौँ आउँदो दिनमा अवस्था कस्तो हुन्छ’ उनले त्यसलाई परिस्थिति अनुसार निश्चय गरिने प्रस्ट्याए । खेल मार्फत जुटेको रकम त्यहिँ धुर्मुस-सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरिनेछ । साथै , त्यहाँ खेलमा प्रयोग भएका बल, ब्याट, जर्सी लगायतका खेल सामग्रीमा सेलिब्रेटीहरुको साइन लिएर बिक्रीका लागि फाउन्डेसन्लाई प्रदान गरिनेछ ।

‘हामीले फ्यानका लागि सेलिब्रेटीले खेलमा प्रयोग गरेका खेल सामग्री फाउन्डेसनलाई हस्तान्तरण गरिदिने छौँ । जसबाट भएको आम्दानी पनि फाउन्डेसनकै हुनेछ’ घिमिरेले बताए । खेलमा तेक्वान्दो खेलाडी दीपक विष्ट, गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, सञ्चारकर्मी नरेश भट्टराई , विवेक सिंह ठकुरी, कलाकार सन्दीप छेत्री , गायिका स्मिता दाहाल, अभिनेत्री बेनिशा हमाल, फुटवलर हरि खड्का, अनिल गुरुङ लगायत थुप्रै सेलिब्रेटीहरुको सहभागिता रहने आयोजक गृष्मा ब्रोडकास्टिङले जनाएको छ । विस्तारै अन्य नामहरु पनि सार्वजनिक हुने बताईएको छ ।