फिल्म समीक्षक गौतमको निधन

फिल्म समिक्षक गोकर्ण गौतमको बिहीवार निधन भएको छ । लामो समय देखि पत्रकारितामा कलम चलाउँदै आएका गौतमको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल)मा निधन भएको हो ।

मष्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल) मा भर्ना भएका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि ३१ वर्षिय गौतमको बिहीवार शल्यक्रिया गरिएको थियो । उनको शल्यक्रियाको क्रममा रक्तश्राव भइ उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

गौतमको बिहीवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । करिश्मा मानन्धर, केकी अधिकारी, प्रदीप भट्टराई, निश्चल बस्नेत, रमेश उप्रेतीलगायतका फिल्मकर्मीहरुले गौतमको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । गत वर्षदेखि कान्तिपुर दैनिकमा कला, साहित्य सम्बन्धी कलम चलाउँदै आएका थिए । उनी चलचित्रकर्मीमाझ फिल्म समिक्षाका कारण अझ परिचित थिए ।