गीत हिट हुन अडियो राम्रो कि भिडियो : कलाकारको आ – आफ्नै तर्क

नेपाली गीत संगीतमा अहिले अडियो राम्रो भएको खण्डमा भिडियो पनि चल्छ भन्ने बहस चल्न थालेको छ । यस विषयलाई लिएर संगीतकार दीपक शर्माले अडियो राम्रो भएको खण्डमा भिडियोमा जो खेले पनि चल्छ भन्ने कुरा बाहिर ल्याएका छन् । जुन अहिले चर्चाको विषय बनेको छ ।
संगीतकार दीपकले ‘गीत चलाउनका लागि अडियो राम्रो बनाउन सक्नु पर्छ । मोडललाई दिनको एक–डेढ लाख बुझाएर मात्र गीत चल्दैन । गीत बुझेर भिडियो बनाएपछि सुहाउने जो खेले पनि गीत चल्छ । व्यक्तिका कारणले गीत चल्नै होइन ।’ उनको यो भनाईले अहिले बजारमा एक प्रकारको तरंग नै ल्याएको देखिन्छ । उनको कुरामा धेरै जसो चलेका गायक गायिका तथा संगीतकारहरुले सहमती जनाएका छन् ।
युवा पुस्ताका लोकप्रिय गायक शिव परियारले यस विषयलाई सहि हो भनेका छन् । उनले लकडाउनको अवधिमा धेरै गीत नचलेको प्रतिक्रिया दिएका छन् । ‘हुन त यसले यस्तो भन्यो, उस्तो भन्यो भन्ने कुरा आउला ।

तर यो लकडाउनको ८ महिनामा जम्मा तीन वटा गीत चलेको देखियो । एउटा पप आधुनिक गीत ‘देखेर तिमिलाई’ अडियो प्रस्तुतिका हिसाबले नयाँ रह्यो, दोस्रो ‘के माया लाग्छ र’ शब्द प्रस्तुतिका हिसाबले नयाँ र तेस्रो पप गीत ‘ए मुटु सुन्न मेरो कुरा’ गायन, स्वर सबै कुराले नयाँ । यी तीन गीत स्वभाविक रुपमा राम्रो बनेका र स्वभाविक रुपमा चलेका पनि हुन् ।

यो लकडाउनको ८ महिनामा नेपालका विभिन्न प्लेटफर्ममा हिट भनिएका कलाकार र संगीतज्ञ संगीत सृजनामा लगातार भिडिरहँदा पनि प्राय जसो गीतमा हाम्रो प्रिय मोडेल भाइ पल शाहकै अनुहार झल्को आउने गीत बने,’शिवले भने । उनले गीतमा जति सुकै बुस्ट गरेता पनि भिडियोलाई दर्शकले नहेरेको बताएका छन् । उनले जति सुकै रकम खर्च गरे गीतको भिडियोलाई करोड पुर्याए पनि कसैले नचिनेको र नसुनेको र यसले खासै अर्थ नलाग्ने बताएका छन् ।  उनले भने , ‘गूगल बुस्ट गरेर पेड भ्युज बटुलेर एकै दिनमा ६ लाख भ्युज, दुई दिनमा १० लाख बनाउँदै १० दिनमा नै करोड भ्युज पुर्याए पनि आखिर गीतको नाम बस्तिमा कसैलाई थाहा नै हुने अवस्था भएन ।’

उनले करोड भ्युज पाएको गीतलाई ब्यङ्य गर्दै कुन हिट भयो भन्ने कुरा टिकटकमा खोज्नु पर्ने अवस्था आएको बताएका छन् । उनले गीत बस्तीमा नपुगेको र गीतहरु मोवाइलको एप्समा आएको र मोवाइलबाटै हराएको तर्क गरे ।  उनी भन्छन् , ‘कुन गीत भनेर थाहा पाउन प्रायोजित रुपमा बनाईएका टिकटक हेर्न त्यसै भित्र जानु पर्ने बाध्यताले गर्दा पनि गीत मानिसका बस्तिमा होईन कि मोबाईल एप्स भित्र भित्रै आए र भित्र भित्रै हराए भन्दा अत्युक्ति नहोला । कला भनेको यो बढो अचम्मको कुरा रहेछ, मैले यो ८ महिनामा यहि नै बुझें ।’

हास्य कलाकार केदार प्रसाद घिमिरे (माग्नेबुढा)ले पनि गीत राम्रो भएको खण्डमा भिडियो त्यसै हिट हुने प्रतिक्रिया दिएका छन् । उनले संगीतकार दीपक शर्माले भनेको कुरामा आफु सहमत रहेको बताएका छन् ।  अर्का हास्य कलाकार विल्सन विक्रम राईको भनाई पनि उस्तै रहेको छ । उनले अडियो राम्रो भएको खण्डमा गीत उसै हिट हुने प्रतिक्रिया दिएका छन् । उनले भने ,‘अडियो जग हो, भिडियो त्यसमाथि बनेको भवन । अहिलेलाई यति मात्रै ।’ उनले गीतको बलियो आधार भनेकै गीत हो र पछि बनाइएका कुराहरु सिंगो घर बनेको र रंग रोकन गरिएको बुझ्नु पर्ने बताएका छन् ।

नेपाली गीत संगीतका पुराना गायक रञ्जित कुमारका अनुसार गीतमा लगानी गर्ने मान्छेले कन्जुस्याई गर्ने गरेको बताए । भिडियोमा जति पनि पैसा खसाउने मान्छेले अडियोमा लगानी गर्न डराउने गरेको आफ्नो अनुभव सुनाए ।  उनी भन्छन् ,‘ ‘कतिले भिडियोमा दिल खोलेर लगानी गर्छन्, अडियोमा कन्जुस्याईं गर्न खोज्छन् । अडियोमा दिल खोलेर लगानी गर्नुपर्छ । अडियो बबाल भए गीत त्यसै हिट हुने भैगो नि ।’

चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेन ठकुरीले पनि संगीतकार दीपक शर्माको कुरामा सहमत जनाएका छन् । अहिले गीतको भन्दा पनि भिडियोमा भाइरलको पछि कलाकार दौडिने गरेको प्रतिक्रिया दिएका छन् । अहिले कला विक्न भन्दा पनि भाइरल विगेको तर्क गरे ।
उनी भन्छन् ,‘सही हो, कलाभन्दा पनि भाइरल अनि व्यक्तिगत स्वार्थको पछि पनि दौडेको पाइयो । बिस्तारै यस्ता म्युजिक माफिया र भिडियो माफिया पत्तासाफ हुन्छन् । विगतका इतिहासमा जो त्यही छ ।’

गायक पुरुषोत्तम दाहालका अनुसार कतिले आफ्नो गीत नचलेको सुन्ने गरेको बताए । कतिले गीत चलेन चलेन मात्र भन्छन्, तर सुन्न लायकको बनाउँदैनन् । गीतलाई सुन्न लायकको बनाउँन राम्रो एरेन्जर , राम्रो संगीतकार छनोट गर्नुपर्ने र गीत अनुसारको भिडियो बनाएको खण्डमा गीत अवस्य चल्छ । गीत नराम्रो भएको खण्डमा कसैले नसुन्ने उनको भनाई छ।

निर्देशक जीवन शाहीको कुरा पनि पहिलो गीत नै राम्रो हुनुपर्ने बताउँछन् । उनले गीत नै राम्रो नभए जति सुकै महँगो मोडलको भरमा गीत नकिाल्न अर्ति दिन्छन् । राम्रो गीत भएको खण्डमा गायक भिडियोमा खेलेपनि चल्ने उनको भनाई छ । उनी भन्छन् ,‘बल्ल सही कुरा आयो है । मोडलले गीत चल्ने भए गीतकार, संगीतकार, गायकको के काम त ? आफू भित्र दम नभएर मोडलको भर पर्नु भनेको यही हो । सालको पात‘गायक र संगीतकार खेलेर चल्यो छ ।’

गायक, संगीतकार तथा गीतकार दावा गुरुङले भने , ‘भिडियो जस्तो भए पनि, भिडियोमा जो भए पनि यदि अडियो नै राम्रो छैन भने भिडियोले मात्र केही हुन्न । राम्रो अडियोको राम्रो भिडियो बन्यो भने गीत जीवन्त हुनसक्छ ।’ गायक तथा गीतकार सन्तोष के बास्तोलाको प्रतिक्रिया अन्य भन्दा फरक रहेको छ । उनले गीत राम्रो भएर पनि नहुने बताएका छन् । उनले दीपक शर्माको कुरामा सहमत जनाएका छैनन् । संगीतकार दीपक शर्मालाई नै प्रश्न गरेका छन् । सन्तोषले भने ,‘अँ साँच्ची, पहिलो नम्बरमा भन्ने गीत कति लाखको भिडियो हो रे ब्रदर ? दीपक, दीपा, प्रियंका अनि अन्य कलाकारका ठाउँमा नयाँ अंकल–आन्टि खेलेको भए अनि था हुन्थ्यो हजुरलाई, अनुहार पनि हिट खाएकै हुनु पर्दो रहेछ भनेर ।’

गायक सुनिल सिंह ठकुरीका अनुसार गीत चल्न मोडल हैन गीत नै राम्रो हुनुपर्ने बताउँछन् । उनी भन्छन् ,‘अडियोले नै हो देश खाने । ५,६ लाखको भिडियोले गीत चल्देन । मोडलले गीत चल्ने भए किन संगीतलाई साधना भन्नु पथ्र्यो र ? चेतना भया’ हेमन्त शर्मा, रामकृष्ण ढकाल, जुना प्रसाईं, सञ्जिव पराजुलीले पनि संगीतकार शर्माको भनाइमा सहमती जनाएका छन् ।