मनोज गजुरेलको स्वास्थ्यलाभको कामना गर्दै पूर्वपत्नी मीनाले लेखिन मार्मिक प्रेमपत्र
हिजो देखि हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणका काराण आइसियुमा राखेर उपचार भैरहेको छ । आज विहानै देखि उनको आइसियुमा उपचार भइरहको समाचार सार्वजनिक भइरहेका छन् । कलाकार तथा शुभचित्तकले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । गजुरेलकी पूर्वपत्नी मीना ढकाले पनि पुर्वपतीको स्वास्थ्य लाभको कामना गरेकी छन् । उनले आफ्नो फेसबुकवालमा लामो स्ट्याटस लेख्दै मनोजको सिघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन्। मनोजको आइसियुमा उपचार भैरहेको खबरले आफु विछिप्त भएको मीनाले लेखेकी छिन्।
यस्तो छ मीनाको स्टाटस – ‘ जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भए पनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसँग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्पराअनुसार तिम्रो सिन्दूरको ऋणी भएकी थिएँ ।
तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमीसँंग मैले जीवनका बीसौँ वर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मीयताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु । केही अपवादलाई बाहिर राखेर र मेरा केही खुसीहरूको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।
भलै समयले तिम्रो र मेरोबीचमा दूरी ल्यायो होला फेरि पनि मेरा दुई सन्तानको जन्मदाताका रुपमा आज पनि म तिमीलाई उत्तिकै सम्मान गर्छु र माया गर्छु । आज तिमी आईसीयुमा उपचाररत छौ भन्ने समाचारले मलाई विक्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भए पनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु । आज महसुस भइरहेछ ।
म तिम्रो सुस्वास्थ्यका लागि भगवान्सँग प्रार्थना गर्छु । तिम्रो जीवनसँग मेरा दुई सन्तान पनि जोडिएका छन् । तिमी ठिक छौ र त उनीहरू ढुक्क छन, सुरक्षित छन् । छुट्टै भए पनि, टाढै भए पनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन्, म यो रियलाइज गरिरहेछु । मेरो प्रार्थना सुन्छन्, भगवानले, तिमी छिट्टै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबु–नानीको सामीप्यमा पुग्नेछौ भन्ने आशामा छु ।
मनोज गजुरेल, तिमी छिट्टै हार मान्ने मान्छे होइनौ— मैले बिसौँ तीजका निराहार व्रत बसेकी छु तिम्रा लागि । आज पनि तिम्रो दीर्घायुको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रतिक्षामा छन्।।। तिमी र मबीच जस्तासुकै व्यावहारिक बेमेल भए पनि तिम्रो जीवन मेरा लागि महत्वपूर्ण छ । हार नमानिदेऊ । छिट्टै रिकभर भएर घर पुगेको देख्न पाऊँ । उही तिमीलाई आयुष्मान देख्न चाहने तिम्री पूर्व अर्धाङ्गिनी ।’
प्रतिक्रिया