प्रधानमन्त्रीद्धारा ‘फर्किन् मेरी आमा’ लोकार्पण

प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टा प्रेमनाथ अधिकारीको गीति एल्बमको ‘फर्किन् मेरी आमा’ को लोकार्पण गरेका छन । उनले हिजो दिउँसो बालुवाटारमा सो गीति एल्बम लोकार्पण गरेका हुन् ।  बालुवाटारमा आयोजित कार्यक्रममा गीति एल्बम लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले भने,‘ नेपाली परम्परा र नेपाल एकीकरणका क्रममा पनि गीतका माध्यमले जनतालाई एक सूत्रमा बाँध्ने काम गर्न थालिएकामा खुशी व्यक्त गर्दछु ।’

उनले सबै सत्यका पक्षमा रहन सबै श्रष्टालाई आग्रह गरे । भारतले अतिक्रमण गरेको लिपिया धुरा कालापानी लिपुलेक फिर्ता गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । ‘अतिक्रमणमा परेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता भएरै छाड्नेछ । ’ ओलीले भने । वर्तमान सरकारकै कार्यकालमा उक्त भूमिलाई नेपालको नक्शामा समावेश गर्ने गरी संविधान संशोधन गराइएको थियो ।

राष्ट्रिय जनसांस्कृतिक महासंघका नेता अधिकारी सांस्कृतिक संस्थान ‘राष्ट्रिय नाचघर’ का अध्यक्ष समेत हुन् । समृद्ध नेपाल र सामाजिक सद्भावका विषयमा रचेका लोकभाका सहित छ गीत एल्बममा संकलन गरिएका छन् । कमला अधिकारीको निर्माण रहेको सो एल्बममा गायक, संकलक तथा रचनाकार अधिकारी हुन । सङ्गीत संयोजन अशोक लोहरुङ राईले गरेका छन भने गायनमा दुर्गा परियार र विना भट्टराईले साथ दिएकी छिन ।