अन्योलमा पर्यो ‘परदेशी २’

कोरोना महामारीका कारण छायांकन रोकिएको फिल्म ‘परदेशी २’ अन्योलमा परेको छ । अशोजबाट नै छायांकनमा जाने भन्दै वर्कसप थालेको फिल्म युनिटले अहिलेसम्म छायांकनमा जान सकेको छैन । फिल्मको लकडाउन अघि ५० प्रतिशत छायांकन गरिसकेको छ भने ५० प्रतिशत खिच्न बाँकी नै छ ।
यस फिल्मकी अभिनेत्री वर्षा सिवाकोटी एक फिल्मको छायांकनका लागि अमेरिका गएपछि चाँडै सुटिङ हुने छाँटकाँट देखिएको छैन । जसका कारण फिल्मको छायांकन थप अन्योलमा परेको हो । फिल्मका केहि सिन अमेरिका खिँच्ने भनिएता पनि कोरोना महामारीका कारण दृश्य काटिएको थियो । यसबारेमा निर्देशक नारायण रायमाझी अन्योलमा परेका छन् । उनले फिल्ममा नेपालमा खिच्नुपर्ने केहि सिनहरु खिचिसकेको र बाँकी नेपालमा नै कथा परिवर्तन गरेर खिच्ने योजनामा रहेको केहि दिन अगाडी जानकारी दिएका थिए ।

गायकका रुपमा परिचित बनेका प्रकाश सपुत ‘परदेशी २’ बाट नै अभिनेताको रुपमा डेब्यू गर्दैछन् । पहिलो फिल्म नै उनका लागि अन्योलको बिषय बनेको छ । फिल्ममा प्रकाशका अलवा केकी अधिकारी, वर्षा सिवाकोटी, दीलिप रायमाझी, प्रशान्त तामाङ, देवेन्द्र बब्लुलगायतको अभिनय रहनेछ । ‘गोर्खा पल्टन’ र ‘परदेशी’ फिल्मका लेखक, निर्देशक नारायण रायमाझीले ‘परदेशी–२’ निर्देशन गर्न लागेका हुन् ।