अमेरिकामा हुने अस्कर अवार्डमा नेपाल सहभागी नहुने

अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९३ औं संस्करणका लागि नेपालबाट कुनै पनि फिल्म सहभागी नहुने भएका छन् । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अवार्ड कार्यक्रमका लागि कुनै पनि फिल्म नपठाउने निर्णय गरेको हो । समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ बिहीबारका दिन समितिलाई प्राप्त दुई फिल्म अवलोकन गर्दा अस्करले तोकिदिएको मापदण्डहरू पूरा नभएको ठहर गरी सर्वसम्मतिद्वारा यो वर्ष नेपालबाट कुनै पनि चलचित्र सहभागिताका लागि नपठाउने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

गत महिना नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई आह्वान गरेको थियो । समितिले असोजको २९ गते भित्र फिल्म बुझाउन उर्दी जारी गरेको थियो तर कोभिन १९को कारण देखाउै समिति पछि हटेको हो । समितिले अस्करमा सहभागी हुन गरेको उर्दीका आधारमा नेपालबाट दीपेन्द्र के खनाल निर्देशित ‘आमा’ र सर्जियो बासो निर्देशित ‘सरिता’ले सहभागिताका लागि आवेदन दिएका थिए ।

यसअघि फ्रेब्रुअरीमा हुँदै आएको अवार्ड कोरोना महामारीका कारण दुई महिना पर धकेलिएको छ । नयाँ मिति अनुसार अस्कर अवार्ड अप्रिल २५ का दिन आइतबार लसएञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुनेछ । महामारीकै कारण अस्करले सहभागिताका लागि केही नियममा पनि परिवर्तन गरेको थियो ।
अमेरिकामा हुने अस्कर अवार्डका लागि नेपालले सन् १९९९ देखि फिल्म पठाउँदै आएको थियो ।

केहि समय फिल्मलाईअस्कर अवार्डमा सहभागीता जनाउन नसकेको नेपालले सन् २०१३ मा ‘सुनगाभा’ पठाएको थियो ।  नेपालमा बिमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, लोकेन्द्र पराजुली, सामीप्यराज तिमल्सेना र चिरञ्जीवी गुरागाइँ सदस्य रहेका छन् ।