अस्कर कलेजले ‘भर्चुअल फिल्म फेस्टिभल’ आयोजना गर्दै

अस्कर इन्टरनेसनल कलेज अफ फिल्म स्टडिजले फिल्म फेस्टिभलको आयोजना गर्ने भएको छ । यहि शुक्रवारदेखि आइतवारसम्म तीन दिन लामो भर्चुअल फिल्म फेस्टिभलमा आयोजना गर्न लागेको हो । यस फेस्टिभलमा फिल्म स्क्रिनिङदेखि देशी विदेशी फिल्मकर्मीसँग अन्तरक्रिया गर्ने निर्देशक तथा कलेजका प्रिन्सिपल विनोद पौडेलले जानकारी दिएका छन् । पौडलका अनुसार महामारीका कारण सुस्त रहेको फिल्म उद्योगलाई गतिशील बनाउन फेस्टिभल गर्न लागेको हो ।

यस फेस्टिभलमा अस्कर कलेजकै विद्यार्थीले बनाएका ९ फिल्म प्रदर्शन गरिने छ । त्यस्तै पहिलो दिन शेखर खरेलले विनोद पौडेल र मनोजबाबु पन्तसँग फिल्म स्टडिजका आरोह अवरोहका बारेमा कुरा गर्नेछन् । सोही दिनको दोस्रो सेसनमा आश्मा पोखरेलले महिला फिल्ममेकर दीपा बस्नेत, रजिता श्रेष्ठ, महिमा नवबाघ, शबनम मुखिया र इतुशा पोखरेलसँग अन्तर्क्रिरया गर्नेछिन्। सो दिनको अन्तिम सेसनमा अंकित कोइराला, रिजन गजुरेल र राकेश भाजु फिल्म देखाएपछि हुने छलफलमा सहभागी हुनेछन् ।

अन्तर्क्रिरयालाई केदार श्रेष्ठले सहजीकरण गर्नेछन् । कार्यक्रमको दोस्रो दिनको पहिलो सेसनमा अरुण देव जोशीले , मीन भाम, सुजित बिडारी, निरञ्जनराज भेटवाल र अंकित पौडेलसँग अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले दिलाउने अवसरका बारेमा कुरा गर्नेछन् । यसपछिको सेसनमा शेखर खरेल फेरि एक पटक नेपाली फिल्म उद्योगमा काम गर्दाका चुनौती र अवसरको विषयमा स्वस्तिमा खड्का, रबिन्द्रसिंह बानियाँ, दीपेन्द्र के खनाल, प्रदीप भट्टराई र अनुप बरालसँग छलफल गर्नेछन् ।

डेढ घन्टा चल्ने अर्को सेसनमा नबिन न्यौपानेले फिल्म ग्रयाजुएटको रुपमा फिल्म उद्योगमा काम गर्दा अनुभव खोतल्नेछन्। यो सेसनमा कबिर खड्का, मनिष राउत, महेश त्रिपाठी, मुकुन भुषाल र अभय बरालले आफ्नो अनुभव सुनाउँनेछन्। दोस्रो दिनको अन्तिम सेसन पहिलो दिनझै फिल्म देखाएर सकिनेछ। यो दिन अशुका अर्याल, मार्टिन भण्डारी र गणेशजंग रावल निर्देशित फिल्म देखाइनेछ भने प्रशन्न मालीले उनीहरुसँग अन्तर्क्रिरया गर्नेछन्।

आइतवार विद्यार्थी लक्षित कार्यशाला पनि हुनेछ। जसलाई निश्चल बस्नेत, दयाहाङ राई, ऋचा शर्मा र दीपकराज गिरीले सम्बोधन गर्नेछन्। अन्तिम दिनको पहिलो सेसनमा सेसनमा राजन कठेतले फिल्म अध्ययनपछिका अवसरको बारेमा कुरा गर्नेछन्। यो सेसनमा शिशिर बिशंखे, दिकेश खड्गी, अंकित पौडेल र निगम भण्डारीले आफ्ना अनुभव साटासाट गर्नेछन्।

दिनको दोस्रो सेसनमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, निर्माता संघका अध्यक्ष आकाश अधिकारी र निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठले फिल्म सम्बन्धी नीति नियमको अवस्थाको बारेमा कुरा गर्नेछन्। त्यस्तै निर्देशक छिरिङ रितार शेर्पा विदेशी फिल्ममेकर गुयम मेगुट, मिचेल हेनरिक र इनग्रिड लिल हगटनसँग फिल्म को–प्रडक्सनको सम्भावनाको बारेमा छलफल गर्नेछन्। दिनको अन्तिम सेसन फिल्म देखाएर सकिनेछ।

अन्तिम दिन राजकुमार राई, बिजेश महर्जन र निपिल शर्मा निर्देशित फिल्म देखाइनेछ भने फिल्म प्रदर्शनपछि उत्पल झाले उनीहरुसँग कुराकानी गरिने छ । जति पनि कार्यक्रमका गतिविध छन् , ति सबै छलफल तथा फिल्म कलेजको फेसबुक पेज तथा युट्युबमा लाइभ हेर्न सकिने आयोजकले जानकारी दिएको छ ।